यसरी हुँदै छ अजिङ्गर भीरमा सडक निर्माण

ठाकुरप्रसाद आचार्य/म्याग्दी
मंसिर१७  गते ।

म्याग्दीको दुर्गम गाउँमा सडक पु¥याउन कहालीलाग्दो भिर फुटाएर ट्याक खोल्न थालिएको छ । रघुगंगा गाउँपालिकाका वडाहरु ४ दर्मिजा,७ चिमखोला र ८ कुइनेमंगलेका वस्तीहरुलाई सडक सञ्जाल सँग जोडन डरलाग्दो अजिंगर भिर फुटाउन थालिएको हो । सवैभन्दा कठिन र जोखिमयुक्त रहेको भिरमा यतिखेर सडक निर्माणको काम भइरहेको छ । यो गाउँपालिका केन्द्र हुँदै सदरमुकाम बेनी जोड्ने छोटो दुरीको सडक हो ।


अजिंगर भिरमा सडको ट्रयाक खुलेपछि दुर्गम भेगका सर्वसाधरणहरुको मोटर चढ्ने चाहना पुरा हुनेछ ।
अजिंगर भिरमा ट्रयाक खोलेर सडक बनाउन नसक्दा दुर्गम ति गाउँका स्थानीयहरुको मोटर चढ्ने सपना अधुरो थियो । रघुगंगा गाउँपालिका ४ को दग्नाम सम्म पुगेको सडकलाई कुइनेमंगले सम्म पु¥याउन अजिंगर भिर अबरोध बनेको थियो । अक्करे भिरमा चट्टानी पहाड फुटाएर दुर्गम गाउँमा सडक पु¥याउन ठूलै चुनौती थियो ।

गाँउपालिकाको केन्द्र मौवाफाँटदेखि दर्मिजा, चिमखोला र कुइनेमङ्गले जोड्ने सडक आयोजना सुरु भएको पाँच वर्ष भयो । अजिंगर भिर फुटाउन बजेट अभावका कारण समयमै सडक पु¥याउन नसकिएको हो । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै गौरबको आयोजना छनौंट गरी प्राथमिकताका साथ बजेट विनियोजन भएपछि सडक निर्माणले तिव्रता पाएको हो ।
दुर्गमका वस्तीहरुमा सडक पु¥याउन गाउँपालिकाले गौरबको योजना छनौट गरी प्राथमिकताका साथ बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार चिमखोलमा निर्माणाधीन तुङ्दी जलविद्युत् आयोजना,संघिय र प्रदेश सरकारसँगको साझेदारीमा अक्करे भिरमा चट्टानी पहाड फुटाएर दुर्गम गाउँलाई सडक सञ्जालमा जोड्न लागिएको हो ।

‘अजिंगर भिरमा सडक खन्न यो वर्ष गाउँपालिकाले एक करोड ५० लाख रूपियाँ र गण्डकी प्रदेश सरकारले ५० लाख रूपियाँ विनियोजन गरेको छ,’ अध्यक्ष भण्डारीले भन्नुभयो ‘जलविद्युत् आयोजनासँग ट्रयाक निर्माणका लागि बराबरी लगानी गर्ने सम्झौता भएको छ ।’ अजिगंर भिरमा ट्रयाक खुलेसँगै दुर्गम भेगका सर्वसाधरणहरु लाभान्वित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मौवाफाँटदेखि दग्नाम हुँदै अजिगंर भिर पाँच किलोमिटर र चिमखोलादेखि दर्मीजासम्म करिब चार किलोमिटर सडकको ट्याक खुलिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । माघ महिना भित्र अजिंगर भिरमा ट्रयाक खुलाउने गरी काम भइरहेको उहाँले बताउनुभयो । कडा भिरमा विस्फोटक पदार्थ प्रयोग गरे सडक खन्ने काम भएको उहाँले बताउनुभयो ।

चिमखोला र कुइनेमङ्गलमा निर्माणको क्रममा रहेको जलविद्युत् आयोजनाको सहयोगमा नेपाली सेनाको निगरानीमा विष्फोटक पदार्थ प्रयोग गरेर चट्टान फुटाउन थालिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । दर्मीजा र दग्नाम दुवैतर्फबाट पाँच वटा डोजरका साथै मजदुर परिचालन गरेर सडक निर्माणको काम भइरहेको गाउँपालिकाका सब इन्जिनियर कमल चोखालले बताउनुभयो । कडा र अफ्ठ्यारो भिर करिब ८ सय मिटरमा एकसय पचास मिटर ट्रयाक खोल्न बाँकी रहेको उहाँले बताउनुभयो ।