एयर लिफ्टिङमार्फत गण्डकीमा १५ गर्भवती र सुत्केरीको उद्धार

तारा चापागाइँ दुबे /पोखरा

 असार ३ गते । गण्डकी प्रदेश सरकारले एयर लिफ्टिङमार्फत १५ जना गर्भवती र सुत्केरी महिलाको उद्धार गरी सुविधा सम्पन्न अस्पतालमा पुर्याएको जनाएको छ ।
दुर्गम क्षेत्रका जटिल अवस्थामा रहेका गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको उद्धार गरी सुविधा सम्पन्न अस्पतालसम्म पुर्याउने उद्देश्यसहित प्रदेश सरकारले एयर लिफ्टिङ कार्यक्रम सुरु गरेको थियो । आगामी आर्थिक वर्षको बजेटमा समेत गण्डकी प्रदेश सरकारले यस कार्यक्रमलाई निरन्तरता दिएको छ ।

कार्यक्रम अन्तर्गत लकडाउनको समयमा मात्र तीन जना सुत्केरी गर्भवतीको उद्धार गरी अस्पताल पुर्याइएको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले जानकारी दिनुभयो ।

उद्धार गरिएका तीनमध्ये एक जनाको निधन भएको पुनले बताउनुभयो । ती महिलाको समयमा उद्धार हुन नसक्दा निधन भएको भन्दै उहाले दुख व्यक्त गर्नुभयो । “आफ्नो हेलिकोप्टर छैन । खोज्नु पर्यो, उताबाट पनि ढिला खबर आयो । ल्याउने प्रकृया गर्दा गर्दा ढिला भएकोले एकजना गर्भवतीले ज्यान गुमाउनुपर्यो” मन्त्री पुनले भन्नुभयो ।

गएको भदौ महिनादेखि हालसम्म प्रदेशका विभिन्न स्थानवाट १५ जनालाई उद्धार गरिएको हो ।

“कुनै पनि सुत्केरी वा गर्भवतीले अकालमा ज्यान गुमाउन नपरोस्, जानकारी पाएसम्म हामी लागी परेका छौँ ।” मन्त्री पुनले थप्नुभयो । पश्चिम क्षेत्र दुर्गम ठाँउहरूका सुत्केरी वा गर्भवतीकाे उद्धार गरिएको मन्त्री पुनले बताउनुभयो ।

मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयमार्फत उनीहरूको उद्धार गरिएको मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक रामबहादुर केसीले जानकारी दिनुभयो ।

मन्त्रालयले म्याग्दी, मुस्ताङ, बाग्लुङलगायतका ठाँउबाट जटिल समस्या देखिएकालाई तत्कालै उद्धार गरी पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याउने गरेको केसीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हालसम्म १५ जनालाइ उद्धार गरेका छौँ । यही वैशाख १ गते पोखरा ल्याइएकी बाग्लुङ ढोरपाटनकी भिमा पाण्डेको उद्धारमा ढिला भएकोले बचाउन सकिएन, अन्य सबैकाे सकुशल उद्धार भएको छ। खबर पाउनसाथ हामी उद्धारमा जुट्छौँ ।”

१५ जनाको उद्धारमा करिब २३ लाख खर्च लागेको जानकारी दिँदै केसीले एक पटकमा एक जनालाई उद्धार गर्दा एक लाख ३० हजारदेखि एक लाख ५० हजारसम्म खर्च लाग्ने गरेको जानकारी दिनुभयो । पन्ध्र जनामध्ये एक जनाको मात्र एक लाख ३० हजार लागेको र अन्य १४ जनाको एक लाख ५० हजार लागेको केसीको भनाइ छ । gorkhapatraonline