उपचार गर्न लैजाँदा बाटैमा बितेका व्यक्तिको रिपोर्ट नेगेटिभ

असार १, २०७७ पर्वत :

कोरोना सङ्क्रमित आशङ्का गरिएका पर्वतका एकजना पुरुषको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। कुस्मा नगरपालिका ४ का ४५ वर्षीय पदमबहादुर परियार दुई वर्षदेखि कलेजोसम्बन्धी समस्याबाट पीडित थिए।

शनिबार स्वास्थ्य समस्या बढेपछि पोखरा लैजाँदै गर्दा उनको निधन भएको थियो। मृत्युअघि उनमा कोरोनासँग मिल्दो लक्षण देखिएका कारण नमुना परीक्षणका लागि पर्वत अस्पतालमा लगेर स्वाब निकालिएको थियो।

ज्वरो खोकी लगायत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वास्थ्यकर्मीले नमुना परीक्षणका लागि आइतबार बिहानै स्वाब पोखरा पठाएका थिए। पारिवारिक स्रोतका अनुसार परियारले २ वर्षदेखि कलेजोसम्बन्धी समस्या निदान गर्न नियमित उपचार गराइरहेका थिए। उनलाई जेठ २४ देखि २८ गतेसम्म पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गरी घर ल्याइएको थियो।

बाटोमा नै मृत्यु भएपछि उनलाई गण्डकी मेडिकल कलेजमा लगिएकोमा भर्ना लिन नमानेपछि जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा मृतकलाई पर्वत अस्पतालमा ल्याइएको थियो। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले पोखरामा स्वाब लिन नमानेपछि पर्वत अस्पतालमा स्वाब सङ्कलन गरी पठाएकोमा सङ्क्रमण नरहेको रिपोर्ट आएको बताए। आइतबार साँझमात्र उनको परीक्षण रिपोर्ट आएपनि आफन्तले आइतबार दिउँसो नै दाहसंस्कार गरेका थिए।thha khabar