सुदूरपश्चिममा परीक्षणविनै २६ जना कोरोन संक्रमित डिस्चार्ज

१ असार, डोटी ।

कोरोनाको लक्षण नदेखिएको भन्दै सुदूरपश्चिम विभिन्न ठाउँबाट २६ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । सरकारले जारी गरेको नयाँ निर्देशिका अनुसार १४ दिन आइसोलेसनमा बसेका, कुनै लक्षण नदेखिएका तथा स्वास्थ्य समस्या नभएका २६ संक्रमितलाई डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुनेमा सेती प्रादेशिक अस्पतालबाट १५ जना रहेका छन् । यस्तै महाकाली अस्पतालबाट चार जना, डोटी जिल्ला अस्पतालबाट दुई जना, डोटीको पूर्वीचौकी गाउँपालिकाबाट तीन जना र अछाम जिल्ला अस्पतालबाट दुईजना संक्रमितलाई पनि आइतबारै डिस्चार्ज गरिएको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले अस्पतालको आइसोलेसनमा रहेका कैलालीका ११ र डोटीका चार जनालाई डिस्चार्ज गरिएको बताए ।

उनका अनुसार डिस्चार्ज हुनेमा गौरीगंगा नगरपालिका-२ का सात पुरुष पुरुष, वडा नम्बर-४ का एक पुरुष, धनगढी उपमहानगरपालिका-१० का एक पुरुष, जानकी

गाउँपालिका-१ का एक पुरुष, बर्दगोरीया गाउँपालिका-५ का एक पुरुष रहेका छन् ।
यस्तै डोटीको केआईसिंह गाउँपालिका-३ घर भई सेती प्रादेशिक अस्पतालमा उपचाररत दुई महिला र दुई पुरुषलाई पनि आइतबारै डिस्चार्ज गरिएको सूचना अधिकारी श्रेष्ठले बताए ।

यस्तै महाकाली अस्पतालबाट काठमाडौंका दुई, कञ्चनपुर भीमदत्त नगरपालिकाका एक र महाकाली नगरपालिकाका एक गरी चारजना पुरुषलाई डिस्चार्ज गरिएको अस्पतालका कोरोना फोकल व्यक्ति डा सरोज आचार्यले जानकारी दिए ।

डोटी जिल्ला अस्पतालमा उपचार गराई रहेका पूर्वीचौकी गाउँपालिकाका दुई र पूर्वीचौकी गाउँपालिकाले व्यवस्थापन गरेको आइसोलेसनमा उपचार भइरहेका तीन गरी पाँचजनालाई डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।

यस्तै अछाम जिल्ला अस्पतालमा उपचाररत मंगलसेन नगरपालिकाका एक र सोकट गाउँपालिकाका एक गरी दुई जनालाई घर पठाइएको स्वास्थ्य कार्यालय अछाममा प्रमुख जनक ढुङ्गानाले जानकारी दिए ।

१४ दिन आइसोलेसनमा बिताएका र उनीहरुमा कुनै पनि प्रकारको लक्षण नदेखिएकोले नयाँ निर्देशिका अनुसार सात दिन अनिवार्य होम क्वारेन्टिनमा बस्ने गरी डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । यसअघि संक्रमितलाई दुई पटक लगातार पिसिआर नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गर्ने गरिएको थियो । online khabar