पहिरोमा ज्यान गुमाएका ८ जनाको सामूहिक अन्त्येष्टि हुँदै

असार १, २०७७ पर्वत :

पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङको ढकालवारिमा शनिबार राति आएको पहिरोमा परी मृत्यु भएकाहरूमध्ये ६ जनाको सोमबार सामूहिक अन्त्येष्टि गरिने भएको छ। पहिरोमा परी मृत्यु भएकाहरूमध्ये एउटै परिवारका ५८ वर्षका तुल बहादुर थापा उनकी ५२ वर्षीया श्रीमती मीनकुमारी थापा, छोरातर्फmका नाति १७ वर्षीय विवेक थापा, नातिनी ११ वर्षीया बिबिशा थापा र अर्को परिवारका ३२ वर्षीया कमला बि.क. र उनकी छोरी ७ वर्षीया प्रमिशा बि.क.को कालीगण्डकी र मोदी नदीको संगमस्थलमा रहेको मोदीबेणी घाटमा सामूहिक अन्त्येष्टि गर्ने तयारी गरिएको हो। पहिरोमा मृत्यु भएकी तुलबहादुरकी ३० वर्षीया छोरी डिरपा थापा र डिरपाका १४ वर्षीय छोरा सम्राट थापाको भने बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदी किनारमा रहेको जैमिनीघाटमा अन्त्येष्टि गरिने भएको छ।

वडाध्यक्ष तेजप्रसाद पाध्याका अनुसार डिरपाको विवाह बागलुङको पैयूँथन्थापमा भएको थियो। उनी लकडाउनको समयलाई सदुपयोग गर्दै माइतीमा बस्न आएको बेलामा छोरासहित पहिरोमा परेकी हुन्। डिरपाको घर पक्षले आफ्नै घाटमा लगेर अन्त्येष्टि गर्ने बताएपछि २ जनाको शवलाई पर्वत अस्पतालमा पोस्टमार्टम गरेपछि परिवारको जिम्मा लगाएर बागलुङ पठाइने छ।

शनिबार राति साढे ८ बजेको समयमा आएको पहिरोमा ९ जना बेपत्ता भएका थिए। शनिबार राति र आइतबार गरेर ८ जनाको शव फेला परेको भए पनि कमलाका छोरा १३ वर्षीय जेनिश बि.क. भने अझै पनि बेपत्ता छन्।

आइतबार दिनभर उनको खोजीका लागि पहिरो गएको स्थान खनिएको भए पनि उनी फेला पर्न सकेका छैनन्। सोमबार पनि बिहानैदेखि जेनिशको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी स्थानीयवासी लागिपरेको भए पनि अविरल रूपमा भइरहेको वर्षाका कारण खोजतलासमा समस्या भइरहेको वडाध्यक्ष पाध्याले बताए।