ताजा समाचार:
Search

कोरोना संक्रमितलाई क्वारेन्टिनमा धामी लगाएर झारफुक !

२७ जेठ, काठमाडौं ।

दूरदराजका गाउँमा अन्धविश्वासले कतसिम्म जरा गाडेको छ भन्ने उदाहरण बनेको छ, अछामको चौरपाटी गाउँपालिका–५ लुंग्राको एक क्वारेन्टिन ।

जहाँ कोरोना संक्रमित २५ वर्षीया महिलालाई कोरोना भगाउने भन्दै झारफुक गरेको पाइएको छ ।

गर्भवती रहेकी महिलाको स्वास्थ्य स्थिति गम्भीर भएपछि हाल बाँकेको कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

अस्पताल ल्याउनुअघि गाउँको दयापिपल तोला माविमा उनलाई दुई जना झाँक्रीले झारफुक गरेको संक्रमित महिलाकी एक जना आफन्तले  बताए । उनका अनुसार झाँक्रीले महिलाको कपालमा पानी हाल्ने र फुक्ने कार्य गरेका थिए ।

वडाध्यक्ष टेकबहादुर खड्काले झारफुक गरेको आफूले पनि थाहा पाए पनि त्यहाँ नपुगेको बताए । ‘गाउँघरमा त्यस्तै हो, समस्या छ’, उनले अनलाइनखबरसँग भने, ‘जबसम्म मान्छेले भोग्दैन, तबसम्म नचेत्ने रहेछ ।’
खड्काले भने महिलाको दिसा रोकिएकाले स्थानीयले झाँक्री लगाएको पाइएको बताए ।

उनले दुवै जना झाँक्रीको आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण भइसकेको समेत  बताए । उनले भने, ‘रिपोर्ट नेगेटिभ आइसकेको छ ।’ पीसीआर परीक्षणका लागि केही प्राविधिक समस्या भए पनि त्यसको पनि तयारी भइरहेको उनले बताए ।

स्थानीयका अनुसार २२ जेठमा क्वारेन्टाइनमा बसेका ती महिलासहित अन्य ५० जनालाई पनि झारफुक गरिएको थियो । ‘क्वारेन्टिन भएको स्कुल छेऊमा एउटा ढुंगा छ, त्यहाँ पूजा गरेपछि झारफुक गरिएको थियो’, एक स्थानीयले भने, ‘पूजामा थुप्रै गाउँले संलग्न थिए, अब गाउँले सबैको परीक्षण गर्नुपर्ने अवस्था आएको छ ।’

महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उनी उपचारत अस्पताल पनि एकदिनलाई इमर्जेन्सीर ओपीडी सेवा बन्द गरिएको छ । अस्पतालका डा. दिनेश श्रेष्ठले बताएअनुसार अस्पताललाई डिइन्फेक्सन गर्न सेवा बन्द गराइएको हो । अहिले संक्रमितको स्वास्थ्य स्थिति स्थिर रहेको उनले बताए ।

महिलाको आन्द्राको शल्यक्रिया गर्ने पनि तयारी भइरहेको छ । उनी १५ दिनअघि भारतको मुम्बईबाट आएकी थिइन् । online khabar