बेनी अस्पतालको आइसोलेसन वार्डको क्षमता विस्तार गरी १८ बेडको बनाउने तयारी

विकल्प न्युज/बेनी
बैशाख ३ गते । कोरोना भाइरसको संभावित जोखिमलाई मध्यनजर गर्दै बेनी अस्पतालको आइसोलेसन वार्डको क्षमता विस्तार गरिने भएको छ । हाल कायम ६ बेडको आइसोलेसन वार्डलाई बढाएर १८ बेड क्षमताको बनाउन लागिएको हो ।

बुधबार प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल सहित सुरक्षा निकायका प्रमुख,अस्पताल विकास समिति,चिकित्सक तथा अन्य संघसंस्थाका प्रतिनिधिहरु विचको छलफलबाट अस्पताल परिसरमा भएका भवनलाई उपयोग गरी थप १२ बेड क्षमताको आइसोलेसन वार्ड बनाइने भएको हो । आइसोलेसन वार्ड बनाउन आजैबाट तयारी थालिएको अस्पतालले जनाएको छ ।

अस्पताल परिसर भित्र रहेको रक्तसंचार केन्द्रको भवनमा रहेका ३ वटा कोठालाई आइसोलेसन वार्ड बनाउन प्रयोग गरिने भएको छ । भवन देखि बाहिर रहेको खुल्ला स्थानमा टेन्ट टागेर ४ बेडको आइसोलेसन वार्ड तयारी पारिने छ ।

कोरोना भाइरसको संभावित जोखिमलाई ध्यान दिँदै आवश्यक पूर्व तयारीका लागि आइसोलेसन वार्डको क्षमता विस्तार गर्न लागिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । अस्पताल निर्माणधिन अवस्थामा रहेकाले अन्य स्थानहरुमा आइसोलेसन वार्ड बनाउन छलफल भएपनि चिकित्सकहरुको सुझावलाई ध्यान दिदैं अस्पताल भित्रका उपलब्ध भवनलाई उपयोग गरी आइसोलेसन वार्ड निर्माण गर्ने निर्णय भएको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो । म्याग्दीमा हाल सम्म कोरोना भाइरसको संक्रमित भेटिएका छैनन् । बेनीको न्यू वेष्ट प्वाईन्ट आवाशीय माविमा २७ बेड क्षमताका क्यारेन्टाइन निर्माण गरिएको छ । यसका साथै स्थानीय तहहरुले पनि क्यारेन्टाइन निर्माण गरेका छन् ।