र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ बागलुङकी महिलाको पिसिआर टेष्ट नेगेटिभ

पोखरा, वैशाख १ गते । 

कोरोना भाइरस संक्रमणको आशंकामा बागलुङमा जारी द्रुत परिक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) मा आइतबार एक महिलाको रिपोर्ट पोजेटिभ देखियो।

गाउँपालिकामा आइतबार गरिएको ५७ जनाको स्वाब परीक्षणका क्रममा काठेखोला–६ की ६५ वर्षीया महिलालाई कोरोना संक्रमण भएको रिपोर्ट आएको थियो।

र्‍यापिड टेष्टका क्रममा पोजेटिभ देखिएपछि उनको स्वाब थप परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगियो। पोखरामा पिसिआर मेसिन मार्फत गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए।

‘एउटा गुड न्युज छ है’ गुरौले सेतोपाटीलाई भने, ‘हिजो पोजेटिभ देखिएको महिलाको स्वाब पिसिआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आयो।’

आइतबार नै स्वाब टेष्टका लागि पोखरा पठाएको र रिपोर्ट सोमबार दिउँसो आएको उनले जानकारी दिए।

र्‍यापिड टेष्टमा गरिने परीक्षण ६० प्रतिशत मात्र विश्वसनीय हुने उनले बताए। ठूलो संख्यामा टेष्ट गर्दा किट मार्फत र्‍यापिड टेष्ट गरिन्छ,’ उनले भने ‘र्‍यापिड टेष्ट गर्दा पोजेटिभ देखिए पिसिआर मेसिनबाट टेष्ट गरेपछि मात्र भेरिफाई हुन्छ।’

ती महिला लकडाउनअघि तीर्थयात्राका लागि भारत पुगेर फर्केकी थिइन्। उनको र्‍यापिड टेष्टमा पोजेटिभ रिपोर्ट आएपछि क्वारेन्टिनमा राखिएको थियो। setopati