चीनले १०८ जनामा कोरोना भाइरसको खोप परीक्षण गर्दै

एजेन्सी, चैत्र ९ ।

चीनले वुहानमा १०८ जना मानिसमा कोरोना भाइरसको सम्भावित खोपको परीक्षण थालेको छ । कोभिड–१९ को उत्पत्तिस्थल वुहानकै १०८ जनालाई ३६ जनाको तीन समूहमा विभाजित गरेर परीक्षण गरिएको हो ।

उनीहरुलाई कम, मध्यम र उच्च डोज दिइएको चीनको क्लिनिकल ट्रायल रजिष्ट्रीले जनाएको छ । परीक्षण १८ देखि ६० वर्ष उमेर समूहका मानिसमा गरिएको हो । परीक्षण गरिएका सबै मानिसको स्वास्थ्य अवस्था राम्रो रहेको उल्लेख छ ।

यद्यपि, पहिलोपटक परीक्षण गरिएकाहरुमा पखाला लाग्ने, ज्वरो आउनेजस्ता केही साइड इफेक्ट भने देखिनसक्ने जनाइएको छ । चीन सरकारले यो खोप परीक्षणको अनुमति दिएको तीन दिनपछि बिहीबार खोपको परीक्षण शुरु गरिएको हो ।

बेइजिङबाट अनुमति पाएलगत्तै चिनियाँ सेनासँगको सहकार्यमा चीनको औषधि निर्माता कम्पनी क्यानसिनो बायोलोजिक्सले खोप निर्माण गरेको साउथ चाइना मर्निङ पोष्टले समाचारमा लेखेको छ ।

साइन्स डेल्लीलाई उधृत गर्दै लेखिएको समाचारमा चाइनिज एकेडेमी अफ इन्जिनियरिङका सहायक वाङ जुन्झीमा पनि यो खोपको परीक्षण गरिएको छ । उक्त परीक्षणमा सहभागी सबै जना १४ दिनसम्म मेडिकल परीक्षणको लागि क्वारेन्टाइनमा बस्ने छन् ।

केहीले सामाजिक सञ्जालमा आफ्नो अनुभव सुनाइरहेको पनि समाचारमा उल्लेख छ । सियाओ मी उपनाम दिइएकी महिलाले यो खोप दिनुभन्दा एक दिनअघि मात्र यसबारे आफूलाई जानकारी गराइएको भन्दै खोप लिएपछि दुई जनालाई १००.४ डिग्री ज्वरो आएको र केहीलाई पखाला लागेको जानकारी दिएकी छिन् ।

चिनियाँ अनुसन्धान टोली खोपको परीक्षण अर्को महिनासम्ममा पूरा हुने विश्वासमा छन् । परीक्षण सफल भएपनि व्यवसायिक रुपमा उत्पादन भई खोप बजारमा आइपुग्न छ देखि नौ महिनासम्म लाग्ने विज्ञहरुको भनाइ रहेको लिन्डा लिउले लेखेको खबरमा उल्लेख छ ।