लोक सेवा आयोगको अन्तर्वार्ता पनि स्थगित

९ चैत, काठमाडौं ।

विश्वभर फैलिइरहेको कोरोना भाइरसको महामारीबाट स्वास्थ्य संवेदनशीलता बढेको भन्दै लोक सेवा आयोगले अन्तर्वार्ताका कार्यक्रमहरु अनिश्चितकालका लागि स्थगित गरेको छ ।

यसअघि चैत मसान्तसम्मका लिखित परीक्षाहरु मात्र स्थगित गरेको आयोगले आइतबार थप निर्णय गर्दै अन्तर्वार्ताका कार्यक्रमहरु पनि स्थगित गरेको हो ।

लोक सेवा आयोगकी प्रवक्ता गीता होमेगाईले जारी गरेको विज्ञप्तिमा ‘आयोगको केन्द्रीय कार्यालय र अन्तर्गतका कार्यालयहरुमा मिति २०७६ चैत ११ गतेदेखि सञ्चालन हुने गरी पूर्वनिर्धारित सबै अन्तर्वार्ताका कार्यक्रमहरु अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगन गर्ने’ उल्लेख छ ।

आयोगको यस निर्णयबाट केन्द्रीय कार्यालयमा सञ्चालन हुने निजामती सेवातर्फ नेपाल प्रशासन सेवा, राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरह पदका अन्तर्वार्ता कार्यक्रम रोकिएको छ ।

यस्तै आयोगका बिभिन्न कार्यालयहरुबाट सञ्चालन हुने स्थानीय तहतर्फ चौथो तहका सहायक महिला विकास निरीक्षक पदका अन्तर्वार्ता कार्यक्रम पनि स्थगित भएको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

यसअघि आयोगले लिखित परीक्षामात्र स्थगित गर्ने तर अन्तर्वार्ताका कार्यक्रम स्थगित नगर्ने जनाएको थियो । लिखित परीक्षा स्थगित गर्ने लोक सेवाको निर्णयबाट १०४ वटा विज्ञापनका परीक्षा रोकिएका छन् । लिखित परीक्षा रोकिँदा ५० हजार परीक्षार्थी प्रभावित भएको आयोगले जनाएको छ ।online khabar