मूर्तिकलामा रमाएको छ गलकोट

काठमाडौं :

बागलुङको सुन्दर पहाडी इलाका गलकोटमा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला भइरहेको छ। ‘गलकोट कला प्रतिष्ठान बागलुङ’ले अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला र प्रदर्शनी आयोजना गरेको हो। कार्यशालामा अन्तर्राष्ट्रियस्तरमा ख्याती आर्जन गरेका मूर्तिकारहरूले कार्यशाला स्थलमै बसेर मूर्तिहरू सिर्जना गरेका छन्। कार्यशालामा नेपालबाट मूर्तिकारहरू प्रविणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिठाकोटेले भाग लिएका छन्।

यस्तै जुनीचिरो सुगीमोतो (जापान), ल्यू याङ्ग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर गोञ्जालेज (फ्रान्स), लिन लि जेन (ताइवान), जुली ग्लास्पी (क्यानाडा), टुटु पटानायक (भारत), तान्या प्रिमेन्जर (इजरायल), जर्ज लुइज (ब्राजिल) र युक्रेनका मूर्तिकार ल्यूडमाइला माइस्को पनिगलकोटमै बसेर मूर्ति बनाइरहेका छन्। कार्यशालामा प्राय पाका र अनुभवी मूर्तिकारहरूको सहभागिता रहेको छ। दश विदेशी कलाकारको हकमा पाँच-पाँच नेपाली र भारतीय युवा मूर्तिकारले उनीहरूलाई सहयोगीको रुपमा सहयोग रहेका छन्।

अन्तर्राष्ट्रियस्तरको खुला मूर्तिकला सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताए। अन्तर्राष्ट्रियस्तरमा ख्याति आर्जन गरेका मूर्तिकारले सिर्जना गरेका मूर्तिकलाका कृति सङ्ग्रहालय बनाएर राख्ने प्रतिष्ठानको योजना छ। अहिले गलकोटका स्थानीय सर्वसाधारण र कलाप्रेमीले स्थानीय तहमै ख्यातिप्राप्त मूर्तिकारले सृजना गरेका मूर्ति अवलोकन गरिरहेका छन्।

आर्थिक वर्ष २०७३/७४ देखि कार्यशालाका लागि तयारी अगाडि बढेको थियो। हालसम्म पूर्वाधार निर्माणमा ८६ लाख ९३ हजार रुपैयाँ खर्च भइसकेको छ। कार्यशालाको कूल खर्च झण्डै दुई करोड ३० लाख रुपैयाँ नाघ्ने प्रतिष्ठानले जनाएको छ।

कार्यशालाका लागि सरकारी निकायदेखि व्यक्तिगतरुपमा आर्थिक सहयोग जुटाइएको छ। बागलुङ बजारदेखि करिब दस कोस दक्षिण–पश्चिममा अवस्थित गलकोट भौगोलिक, सांस्कृतिक, जैविक र धार्मिक महत्त्वका साथै प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ।

गल्कोटको हरिचौर टेउवामा भइरहेको कार्यशाला ३ हजार १ सय १० मिटर उचाइमा पर्छ। फागुन ५ गतेबाट सुरु भएको कार्यशाला आज आठौं दिनसम्म आइपुग्दा कलाकारहरूले ढुङ्गामा कला आकृति दिने प्रयास गरेका छन्। कार्यशाला फागुन २१ गतेसम्म चल्ने छ thha khabar