बेनी अस्पतालमा लायन्सको १७ लाख बराबरको उपकरण सहयोग

विकल्प न्यूज/बेनी
माघ २४ गते । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ बि वान नेपालले बेनी अस्पतालमा करिब १७ लाख रुपैयाँ बराबरको नवजात शिशुको उपचारका लागि आवश्यक पर्ने विभिन्न उपकरणहरु सहयोग गरेको छ ।
म्याग्दीमा रहेका लायन्स क्लबहरुको पहलमा अस्पताललाई उक्त उपकरणहरु सहयोग भएको लायन्स क्लबको डेपुटी चिप एडभाइजर सन्तोष रावलले जानकारी दिनुभयो ।

शुक्रबार डिष्ट्रिक गर्भनर इन्दु लम्साल सहित लायन्सका विभिन्न पदमा रहेका लायन्स सदस्यहरुको सहभागितामा उक्त उपकरणहरु अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गर्नुभएको हो ।

नवजात शिशुको उपचारमा प्रयोग हुने फोटो थेरापी मेशिन,बच्चालाई तातो बनाउने मेशिन,सक्सन मेशिन,हेन्स सेनीराइटर र प्रिपेशन सेट अस्पताललाई प्राप्त भएको अस्पतालकी नर्सीङ अधिकृत खेमकुमारी पन्तले जानकारी दिनुभयो । प्राप्त भएका उपकरणहरुले नवजात शिशु जन्डीसको उपचार,महिना नपुग्दै जन्मेको बच्चामा स्वास्थ्य समस्या देखिएमा त्यसको उपचारमा सहज हुने अधिकृत पन्तले बताउनुभयो । साथै नवजात शिशुमा स्वासप्रस्वास समस्या देखिएमा पनि ति उपकरणको सहयोगले उपचार गर्न सकिने उहाँको भनाई छ । अस्पतालमा यसअघि पनि यस्ता उपकरणहरु भएपनि अहिले प्राप्त भएको उपकरण नयाँ मोडलको भएकाले नवजात शिशुको उपचारमा थप टेवा मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उपकरण हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ वि वान ३२५ का विभिन्न पदमा रहेका सदस्यहरु लगायत बेनीका लायन्स पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो । लायन्सको को– चिप एडभाइजर चन्द्रकुमार केसीको सञ्चालन र लायन्स क्लब अफ बेनीका अध्यक्ष चन्द्रप्रकाश बराइलीको अध्यक्षतामा उपकरण हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो ।