नमुना पशु फार्म स्थापनाका लागि म्याग्दी र मुस्ताङका ४५ फार्म छनौंट

विकल्प न्यूज/बेनी
माघ १५ गते ।   भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षका लागि म्याग्दी र मुस्ताङमा नमुना मोडल पशु फार्म स्थापनाका लागि ४५ वटा फार्मलाई छनौंट गरेको छ । पशुपंछी तथा मत्स्य विकासको नमुना मोडल फार्म सञ्चालन सम्बन्धी निर्देशिका अनुसार गठित मूल्याङ्कन समितिले उक्त फार्महरु छनौट गरेको हो । 

म्याग्दी र मुस्ताङका गरी एकसय ४३ फार्मले नमुना मोडल फार्म स्थापनाका लागि आवदेन दिएकोमा भेडा बाख्राको २२,गाई भैंसी फार्म ११,माछापालनका लागि २,चौरीको १ र कुखुराको ९ वटा फार्म छनौंट गरिएको पशुसेवा विज्ञ केन्द्रका प्रमुख तथा पशुचिकित्सक नारायण कुशुमले जानकारी दिनुभयो । योगदानमा आधारित अनुदान भएकाले किसानले कम्तीमा पचास प्रतिशत लगानी गर्नुपर्ने उहाँले बताउनुभयो । दुइलाख पचास हजार अनुदान पाउनका लागि किसानले कम्तीमा पाँचलाख लगानी गरेको हुनुपर्ने उहाँले बताउनुभयो ।

छनौंट भएका म्याग्दीका फार्महरुले दुईलाख पचास हजारका दरले अनुदान पाउने भएका छन् । भने मुस्ताङका फार्महरुले तिनलाखका दरले अनुदान पाउने पशुसेवा प्राविधिक सुवाष रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार नमुना चौरी फार्मले ८ लाख रुपैयाँ अनुदान पाउने छ ।चालु आर्थिक वर्षमा नमुना मोडल फार्म स्थापनाका लागि गण्डकी प्रदेश सरकारले पशुसेवा विज्ञ केन्द्रलाई एककरोड २० लाख बजेट उपलब्ध गराएको छ । नमुना फार्म स्थापना गरी उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउन प्रदेश सरकारले उक्त कार्यक्रम अघि सारेको पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।