एककरोड लगानीमा रत्नेचौरमा पशुपालन (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य / विकल्प न्यूज
माघ १३ गते ।
रत्नेचौर,भुगाने / बेनी नगरपालिका १ रत्नेचौर स्थित पशुपालन फार्ममा पुग्दा सुनिल श्रेष्ठ भैंसीलाई घाँस खुवाउन व्यस्त हुुनुहुन्थ्यो । व्यवस्थित रुपमा निर्माण गरिएको गोठमा मुर्राजातका १६ दहुना भैंसी र जर्सी जातका ७ गाई छन् । सुनिल बागलुङ बजारका स्थायी वासिन्दा हुनुहुन्छ । रोजगारीको शिलशिलामा दुईवर्ष जापानमा विताउनुभएका सुनिल भिषाको म्याद छदै स्वदेश फर्किनुभएको हो । विदेशमा गर्ने श्रम र दुःख स्वदेशमै गर्नसके राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण देखाउन सुनिल स्वदेश फर्किनुभयो हो । कृषिमा राम्रो संभावना मैले जापान पुगेर देखेँ सुनिलले भन्नुभयो ‘गाई फार्ममा काम गरेर धेरै सीप र अनुभव सिकेर स्वदेश फर्किएको हुँ ।’ कृषिमा लगानी गर्न सकेमा राम्रो पैसा कमाउन सकिन्छ भन्ने सोचले पशुपालन सुरु गरेको उहाँले बताउनुभयो ।

जापानमा गाई फार्ममा काम गरेको अनुभव संङ्गाल्नुभएका सुनिलमा त्यहाँ सिकेको सीप र अनुभवलाई नेपालमै उपयोग गर्ने सोच पलायो र नेपाल फर्किनुभयो । नेपाल फर्किएपछि विभिन्न क्षेत्रमा पुगेर पशुपालन व्यवसायको अवलोकन र बजार अध्ययन सुनिलले गर्नुभयो ।
वार्षिक तिनलाख रुपैयाँ बुझाउने गरी १२ वर्षका लागि ३५ रोपनी जग्गा भाडामा लिएर फार्मको संरचना निर्माण गर्दै हुनुहुन्छ । यहि पुस १७ गतेबाट फार्म सञ्चालनमा ल्याउनुभएको सुनिलले यहाँ चारकरोड रुपैयाँ सम्म लगानी गर्ने योजना उहाँको छ ।

४४ वर्षीय सुनिलको पुर्खेउली पेशा बजारमा व्यापार गर्ने हो । तर सुनिल कृषिमा नयाँ प्रयोग गर्ने सोचका साथ रत्नेचौरमा आउनुभएको छ । धौलागिरि पशु तथा कृषि फार्म दर्ता गरेर पशुपालन सुरु गर्नुभएको उहाँले अहिले एककरोड २५ लाख लगानी गरेर भौतिक पूर्वाधार निर्माण गर्नुभएको छ । आगमी दिनमा लगानी बढाएर चार करोड रुपैयाँ सम्म पु¥याउने र धौलागिरिमै नमुना कृषि फार्म बनाएर देखाउने सुनिलमा रहर जागेको छ ।
भैंसी पालनका साथै बाख्रा,कुखुरा,बंगुर र रिसोर्ट बनाउने योजना सुनिलले सुनाउनुभयो । दुई सय वटा उन्नतजातका भैंसी पाल्ने र धौलागिरिका तिन जिल्लाका सदरमुकामसम्म दुध पु¥याउने उहाँको योजना छ । भैंसी एकलाख ३० हजार र गाईको ७० हजारमा खरिद गरेको उहाँले बताउनुभयो । फार्ममा अहिले दैनिक एकसय १० लिटर दुध उत्पादन हुन्छ । उत्पादित दुध बागलुङ बजारमा खपत हुनेगरेको उहाँले बताउनुभयो ।

भैंसी र गाईको हेरचाह र दानापानी खुवाउन तिनजना कामदार राख्नुभएको छ । फार्मको क्षमता वृद्धि सँगै कामदार थप्दै जाने सुनिलले बताउनुभयो । दुई वर्ष जापानको गाई फार्ममा काम गर्दा धेरै दुःख पाइयो, परिश्रम पनि धेरै गर्नुपर्ने सुनिलले भन्नुभयो ‘यहाँ गर्ने दुःख र परिश्रम त नेपालमै गरे पैसा कमाउन सकिन्छ भन्ने आटेर फर्किएको हुँ ।’ मेरा लागि पेशा नौलो भएपनि साहसका साथ काम गरियो भने सफल भईन्छ भन्ने मलाई विश्वास छ उहाँले भन्नुभयो । ‘वृहतखालको कृषि फार्म सञ्चालन गर्ने र युवाहरुलाई कृषि पेशाप्रति आकर्षण बढाउने मेरो चाहना छ, उहाँले भन्नुभयो ।’

बजारका छरछिमेकीहरुले सुरु सुरुमा दुःख पाउँछस वावु, त्यस्तो पेशा नगर भन्थे सुनिलले भन्नुभयो ‘अहिले फार्म हेर्न आउँछन र बधाई दिएर फर्किन्छन् ।’ विदेशमा भएका युवाहरुलाई त्यहाँ दुःख नगर्नुहोस, विदेशीको गुलामी नर्गनुहोस आउनुहोस मिलेर काम गरौंं उहाँले भन्नुभयो । अनुभव नभएका युवाहरुलाई उहाँले फार्ममा तालिम पनि दिने सोच बनाउनुभएको छ ।

स्थानीयवासीहरुको पनि साथ र सहयोग मिलेकाले आफूलाई उत्साह मिलेको उहाँको भनाई छ । खाली रहेको जग्गालाई उपलब्ध गराउन वडा कार्यालय लगायत स्थानीयवासीहरुको सहयोग मिलेको सुनिलले बताउनुभयो ।

बागलुङबजारमा व्यापार व्यवसाय गरेका एक युवा रत्नेचौरमा आएर नुमना कृषि फार्म सञ्चालन गर्नु उदाहरणीय कार्य भएको वडा अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो । वडाकै सहजीकरणमा खाली रहेको जग्गालाई भाडामा उपलब्ध गराउने काम गरेको उहाँले बताउनुभयो । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर वडा कार्यालयले कार्यक्रम बनाएको उहाँको भनाई छ । रत्नेचौरमा कृषिको राम्रो संभावना रहेको उहाँले बताउनुभयो । नवविकल्प साप्ताहिकमा प्रकाशित