प्रदेश अन्तर्गतका कार्यालयको सेवाप्रवाह फितलो ः कार्यालयमा भेटिदैनन् प्रमुख

विकल्प न्यूज/बेनी
पुस २३ गते ।
संघियता कार्यान्वयन सँगै जिल्लामा स्थापना भएका  गण्डकी  प्रदेश सरकार अन्तर्गतका कार्यालयहरुको सेवाप्रवाह फितलो देखिएको छ । संघियताको भावना र मर्म विपरित प्रदेश सरकारले जिल्ला सदरमुकाममा स्थापना गरेका कार्यालयहरुको दैनिक कामकाज र सेवाप्रवाह फितलो देखिएको हो । स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुका सट्टा आफ्नो मातहत रहने गरी प्रदेश सरकारले सदरमुकाममा स्थापना गरेका कतिपय कार्यालय सेवाग्राहीप्रति जिम्मेवार नभएको गुनासो बढ्न थालेको हो ।

जिल्लामा वन,कृषि,पशु, भौतिक पूर्वाधार विकास,सिँचाई,स्वास्थ्य, आर्युवेद स्वास्थ्य केन्द्रको कार्यालय स्थापना गरेको प्रदेश सरकारले भू–संरक्षण र खानेपानी कार्यालयको इकाई स्थापना गरेको छ । कार्यालय स्थापना भएपनि आवश्यक बजेट,कार्यक्रम र जनशक्ति व्यवस्थापन नहुँदा समस्यामा परेका कार्यालयहरुले यतिखेर कार्यालय प्रमुखको अनियमित हाजिरीको समस्या झेल्दै आएका छन् ।

कार्यालय प्रमुख धेरै जसो तालिम,गोष्ठी,भ्रमण,अन्तरक्रिया र काज भन्दै कार्यालय छाड्दै हिड्ने प्रचलनले सरकारी सेवाको गुणस्तर खस्किँदो छ । भने कतिपय कार्यालयहरुले आफूखुसी कार्यक्रम तथा योजना बनाएका कारण सेवाग्राहीमैत्री नभएको गुनासो छ ।

कार्यालय प्रमुखहरुले स्थानीय तह सँग समन्वय नगरी योजनाहरु तर्जुमा गर्दा स्थानीय स्तरको आवश्यकता सँग मेल नखाएको जनप्रतिनिधिहरुको गुनासो छ । अर्को तर्फ कार्यालय प्रमुखहरु कार्यालयमा नियमित हाजिर नहुँदा सेवाप्रवाह प्रभावित हुने गरेको गुनासो छ । प्रदेश सरकार अन्तर्गत स्थापना भएका जिल्लाका अधिकांश कार्यालयका प्रमुखहरुलाई कार्यालयमा भेटाउन मुश्किल पर्नेगर्दछ ।

पाँच महिनाको अवधिमा कार्यालय प्रमुख मुश्किलले एक महिना पनि आफ्नो कार्यालयमा हाजिर हुँदैनन भन्दा पत्ताउन कठिन होला । चालु आर्थिक वर्षको साउन देखि मंसिर महिना सम्मको हाजिरी गणना गर्दा एउटा कार्यालय प्रमुखको ३० दिन हाजिर पु¥याउन पनि कठिन छ ।
प्रदेश सरकार अन्तर्गत म्याग्दी र मुस्ताङ हेर्ने गरी बेनीमा स्थापना भएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको सेवाप्रवाह फितलो देखिएको छ ।

केन्द्रका प्रमुख नारायण कुसुम धेरै जसो कार्यालयमा भेटिनुहुँदैन । उहाँको अनियमित हाजिरले गर्दा सेवाप्रवाह फितलो भएको हो । साउनको अन्तिममा म्याग्दी आउनुभएका केन्द्र प्रमुख कुसुमको भदौ देखि पौष १५ सम्म जम्मा ३४ दिन हाजिर छ । कुसुमको भदौंमा १०,असोज ११ कार्तिक ९ र मंसिरमा ४ दिन हाजिर हुनुहुन्छ । पौष महिनाको १५ सम्म हेर्दा उहाँको हाजिर अत्यन्त न्यून छ । कार्यालयमा धेरैजसो अनुपस्थित हुने कार्यालय प्रमुखमा उहाँ पर्नुहुन्छ ।

यस्तै कृषि ज्ञानकेन्द्रका प्रमुख गोविन्दराज कोइराला प्रयाजसो कार्यालयमा भेटिनुहुँदैन । चालु आर्थिक वर्षका कार्यक्रमहरु कार्यान्वयनमा जोड दिनुका सट्टा तालिम,गोष्ठी र काज भन्दै जिल्ला बाहिर जानुहुन्छ एक कर्मचारीले नाम नछाप्ने सर्तमा भन्नुभयो ।

यसै गरी प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वनय इकाईका प्रमुख सूर्यप्रसाद बराललाई पनि कार्यालयमा भेटन मुश्किल हुने गरेको सेवाग्राहीहरुले बताएका छन् ।

प्रयाजसो कार्यालय प्रमुख बाहिरतिरका कार्यक्रमहरुमा जानुहुन्छ अफिस त कहिले काँही मात्र आउनुहुन्छ एक कर्मचारीले नाम नछाप्ने सर्तमा भन्नुभयो । प्रमुख कार्यालयमा नबसेर हैरानै खेप्नुपरेको छ ति कर्मचारीले भन्नुभयो,‘कार्यालयको कामकाज ठप्प हुनुका साथै सेवाग्राही पनि समस्यामा परेका छन् ।’

दैनिक रुपमा कार्यालयमा हाजिर भएर कामकाज गर्नुपर्ने कार्यालय प्रमुखहरु विभिन्न तालिम,गोष्ठी,अन्तरक्रिया लगायत भत्ता पाउने कार्यक्रमहरुमा सहभागि हुँदा कार्यालय लामो समय देखि प्रमुख विहिन हुने गरेको हो ।

कार्यालय प्रमुख नियमित कार्यालयमा नहुँदा सेवाग्राहीले समयमा सेवा पाउन सकेका छैनन। भने अर्को तर्फ कार्यालयको कामकाज प्रभावित हुने गरेको छ ।

तालिम र गोष्ठी भन्दै कार्यालय प्रमुख जिल्ला बाहिर जाने गर्नुहुन्छ पशुसेवा विज्ञ केन्द्रका एक कर्मचारीले भन्नुभयो, ‘प्रमुखको अनुपस्थितिले गर्दा कार्यालयको काम प्रभावित हुने गरेको छ ।’ कार्यालयको काम साथै सेवाग्राहीलाई पनि समस्या हुने गरेको ति कर्मचारीले बताउनुभयो ।
केही कार्यालयका प्रमुखहरुमा नियमित हाजिर नहुँने समस्या देखिएको बताउँदै सुधारका लागि कार्यालयप्रमुखहरुको वैठकमा छलफल हुने गरेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

तालिम,गोष्ठी र फिल्डमा जाने भन्दै कार्यालय छाडेर हिड्ने गरेको पाइएको छ प्रजिअ ढकालले भन्नुभयो, ‘जरुरी काम वाहेक अन्य समयमा कार्यालय नछाड्न सचेत बनाउने गरेका छौं ।’

यता पशुसेवा विज्ञ केन्द्रका प्रमुख कुसुमले कार्यालयकै कामका लागि आफू वाहिर जानेको प्रतिक्रिया दिनुभयो । कार्यालयको सेवा प्रभावित नहुँने गरी आफू तालिम,गोष्ठी लगायतका कार्यक्रमहरु जाने गरेको उहाँको भनाई छ ।