ठाकुर आचार्य,कमल खत्री /बेनी
पुस १० गते । तस्विरमा देखिएको चित्र कुनै व्यक्तिको घर होइन । यो त सुविधा सम्पन्न भनी दावी गरिएको बेनी नगरपालिका ९ गलेश्वरधाम स्थित ज्येष्ठ नागरिक आश्रम भित्रको वास्तविक दर्दनाक अवस्था हो । बुधबार बेलुका जुन कल्पना गरेर आश्रममा हामी पुगेका थियौं त्यसको भिन्न चित्र हामीले देख्यौं ।
त्यहाँ पुग्दा हामीले आश्रम जस्तो देखेनौं । अभाव,पीडा र दुःखका साथ वृद्धावृद्धाहरुले जिवन गुजारेको देख्यौं । पवित्र संस्था भित्र यस्ता चित्रहरु ! हामी अचम्मीत भयौं । सहयोग रकम कहाँ जान्छ ? किन यस्तो भइरहेको छ ? खोजको विषय हामीले ठान्यौं । कतिपयले हामीलाई सुनाए यहाँको विरोध ग¥यो त झरो नै उखालिदिन्छन् त्यही भएर तैही चुप मै चुप !
तिनै ज्येष्ठ नागरिकहरुलाई देखाएर चन्दा सहयोग प्राप्त हुन्छ तर त्यो चन्दा सहयोग ज्येष्ठ नागरिकहरुको गासवास र कपासमा खर्च नभएको खुलासा भएको छ । ज्येष्ठ नागरिकहरुले आश्यकता माग गर्दा उल्टै आश्रमबाट निकालिदिएका घटनाहरु समेत वृद्धवृद्धाहरुले सुनाए ।
ज्येष्ठ नागरिक आश्रममा के–के सुविधा पाईन्छ ? झट्ट सुन्दा लाग्छ आश्रममा आश्रीत वृद्धवृद्धाले सबै सुविधा निःशुल्क पाउछन् । तर ज्येष्ठ नागरिक आश्रममा पुग्दा भने फरक दृष्य देखियो । गलेश्वर शिवालय क्षेत्र विकास कोष मातहतमा २०६७ सालदेखि अनाथ, असहाय, अपांगता, बृद्धबृद्धा, साधुसन्त र एकल महिला, पुरुषलाई गास, बास र कपासको व्यवस्था गर्ने उदेश्यले गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रम सञ्चालन गरिएको थियो ।
आश्रममा आश्रित व्यक्तिहरुलाई निशुल्क खाना र बसोबासको व्यवस्थापन गरिएको भनिएपनि व्यवहारत उनीहरुको बसाई निःशुल्क छैन् । आश्रममा बस्दै आएका ज्येष्ठ नागरिकहरुले ३ महिनाअघिसम्म मासिक रुपमा विद्युत शुल्क समेत तिर्दै आएको खुलेको छ ।
एनआरएनए युकेको आर्थिक सहयोगमा निर्मित भवन सहित अन्य पक्की भवनमा समेत बसोबास गर्दै आएका ज्येष्ठ नागरिकहरुमध्ये अधिकाँशले आफ्नै खर्चमा चुलो बाल्ने गरेका छन् । आश्रमको प्रतिवेदन र घोषणामा पूर्ण रुपमा निःशुल्क गास, बासको व्यवस्था गरिएको भनिएपनि व्यवहारमा भने आश्रमका ज्येष्ठ नागरिकहरुले आफ्नै खर्च जुटाएर आफै पकाएर दिन काट्दैै आएको पाईएको छ ।
उनीहरुले आफ्नो खाद्यान्न, ग्यास खरिद लगायतको खर्च व्यक्तिगत रुपमै जुटाउँदै आएका छन् । आश्रममा रहेका ज्येष्ठ नागरिकहरुले राज्यबाट पाउने सामाजिक सुरक्षा भक्ता र आफन्तबाट पाउने सहयोगबाट गुजारा चलाउँदै आएका छन् ।
गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमले आश्रममा आश्रित व्यक्तिहरुको सहज खानपान र बसोबासमा हेल्चक्राई गरेको गुनासो बढेको छ । सुविधासम्पन्न भवनमा कोठा खाली हुँदा समेत कतिपय असहाय र वृद्धवृद्धाहरु छाप्रो र साँघुरो कोठामा कोचाकोच बस्नुपर्ने बाध्यता रहेको छ ।
खालि रहेको कोठा मिलाईदिन अनुरोध गर्दा आश्रमका नेतृत्वले रकम माग गर्ने गरेको गुनासो उनीहरुको छ । एक ज्येष्ठ नागरिकले नाम नछाप्ने सर्तमा भनिन् ‘ खालि कोठा मिलाइदिनुस भन्दा ७ लाख रकम मागे, हामी जस्तो असहाय र बृद्ध अबस्थामा त्यत्रो पैसा कहाँबाट ल्याउनु ?’
राणाशासनको भन्दापनि बढी दमन र अत्याचार यहाँ छ एक वृद्धाले भनिन ‘धर्मका नाममा शासन गरिएको छ ।’ अत्याचारले सीमा नाघेको छ यहाँ लोकतन्त्र आएकै छैन बोल्यो कि आश्रमबाट निकाल्ने धम्मी आउँछ पीडित वृद्धाले भनिन ।
पक्की भवनका कोठा खालि भएर ताला लगाईएको र छाप्रोमुनी कष्टकर तवरले वृद्धा बस्दै गरेको दृष्यले गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमको व्यवस्थापनमाथि प्रश्न उठाएको छ । ति असहाय वृद्धा महिला बस्दै आएको छाप्रोमा विद्युतको समेत सुविधा छैन् । चिसो मौसममा बोरा विछ्याएर उनले दैनिकी गुजारेकी छिन् ।
यस आश्रममा स्वेच्छाचारी ढंगबाट वृद्धवृद्धा र असहायलाई राख्ने गरेको समेत गुनासो आएको छ । आफुलाई मन परे आश्रय दिने र मन नपरे आश्रमबाट निकालिदिने गरेको घटना समेत अहिले गलेश्वर क्षेत्रमा चर्चामा छ । आश्रममा कस्लाई राख्ने वा नराख्ने भन्ने सम्बन्धमा कार्यविधि नभएको र मनलाग्दी तवरले निर्णय हुने गरेको स्थानीयबासीको समेत गुनासो छ ।
आश्रमको अवलोकनमा पुगेका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले आश्रमको व्यवस्थापन फितलो देखिएकाले सम्बन्धित सरोकारवालासंग यस बारेमा ध्यानकर्षण गराउने बताए । आश्रित व्यक्तिहरुको कोठामा बोरा विच्छ्याईएको र ओढ्ने न्यानो कपडाको समेत अभाब देखिएको प्रजिअ ढकालले बताए ।
मंसीर २४ गते सम्पन्न गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमको ९ औँ कार्यकारी सभामा ५५ जना वृद्धवृद्धा र असहायको निःशुल्क गास, बास र कपासको व्यवस्था गरिँदै आईएको जानकारी गराईएको थियो । तर पुस दोस्रो साता आश्रममा पुग्दा जम्मा करिब ३६ जना मात्रै आश्रित रहेको भेटिएको छ ।
आर्थिक बर्ष २०७५/७६ मा आश्रमको व्यवस्थापनमा १४ लाख ७३ हजार ६४ रुपैयाँ खर्च भएको प्रतिवेदनमा देखिएपनि व्यवहारमा त्यो रकम कहाँ खर्च भयो ? प्रश्न उठेको छ । वृद्धवृद्धाले अभावको सामाना गरिरँदा आश्रम व्यवस्थापन समितिले भने विभिन्न सहयोगदाता र निकायबाट प्राप्त हुन आएको रकमलाई विभिन्न बैँक तथा सहकारीमा रु ४६ लाख भन्दा बढी रकम बचत गरेको पाइएको छ ।
गत आ.व.मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त रु १० लाख, गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट प्राप्त रु ३ लाख बजेटलाई आश्रमको जिन्सी खरिद, सुसारे र भान्सेको पारिश्रमिक तथा आश्रम मर्मतमा खर्च गरिएको आश्रमको प्रतिवेदनमा उल्लेख छ ।
तर आश्रममा नत सुसारे नै छन नत भान्से नै । सुसारेको अभाबमा चिसो याममा लुगलुग काम्दै वृद्धवृद्धाले आफ्नो स्याहार सुसार र लत्ताकपडा धुने काम गर्दै आएका छन् ।
आश्रममा अधिकाँशले आफै पकाएर खाने गरेका छन भने केहि असहाय व्यक्ति र वृद्धवृद्धाले पुलत्स्य पुलह अन्नदान क्षेत्रले सञ्चालन गर्दै आएको भोजनालयबाट खाना खाने गरेको पाइएको छ । छुट्टै व्यवस्थापनमा २०६२ सालमा स्थापना भएको गलेश्वरधाम पुलत्स्य पुलह अन्नदान क्षेत्रले तिर्थयात्री, साधुसन्त, शालग्राम गण्डकी वेद विद्याश्रमका विद्यार्थी संगै वृद्धवृद्धालाई समेत दान, चन्दा र सहयोग जुटाएर भोजनको व्यवस्था गर्दै आएको छ ।
आश्रमका अध्यक्ष समेत रहेका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले पारिवारिक समस्याको कारण आश्रम व्यवस्थापनमा समय दिन नसकेको बताउँदै कमिकमजोरीलाई सुधार गर्न आफु प्रतिबद्ध रहेको टेलिफोनमा प्रतिकृया दिए ।
उनले वृद्धवृद्धाको सहज व्यवस्थापन गर्नु नै समितिको पहिलो जिम्मेवारी भएको बताए । आश्रममा आश्रित व्यक्तिहरुबाट आफु समक्ष कुनै गुनासो नआएको बताउँदै अध्यक्ष केसीले वृद्धवृद्धाबाट विजुलिको शुल्क लिन छाडिएको जानकारी दिए ।
कतिपय स्रोतहरुका हकमा सम्बन्धित पीडितहरुको माग अनुसार गोप्य राखिएको छ । सम्पादक विकल्प न्यूज