पुरानो सम्पदा मास्दै गलेश्वरधाम

विकल्प न्यूज/बेनी
पुस १० गते ।
बेनीको गलेश्वर शिवालय परिसरमा पुरानो सम्पदाको रुपमा रहेको शालग्राम गण्डकी वेद विद्याश्रमको भवन मास्न लागिएको छ । वि.स. २०२८ सालमा स्थानीय स्रोत र साधनको प्रयोग गरि निर्माण गरिएको पुरानो सम्पदालाई संरक्षण गर्नुको साटो भवनलाई विना कारण भत्काउन लागिएको हो ।
संस्कृत पाठशाला सञ्चालन हुँदै आएको सो भवन अहिले गलेश्वर शिवालय परिसरमा रहेको एकमात्रै पुरानो सम्पदाको रुपमा रहेको छ । २०७२ सालको विनासकारी भुकम्पले समेत कुनै क्षति नपु¥याएको सो भवनलाई भत्काउने तयारी गरिएसंगै अहिले चौतर्फि आलोचना र विरोध भएको छ ।
वेद विद्याश्रमलाई लक्षित गरि पुलत्स्य पुलह अन्नदान भवन परिसरमा भवन निमार्ण गर्न लागिएको छ । भवन निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बेनी नगरपालिका मार्फत कार्यान्वयन हुने स्विकृत भएको रु ५० लाख बजेटमध्ये पहिलो चरणमा आएको रु २५ लाख बजेटको योजना सम्झौता भैसकेको छ ।

भवन निर्माणको तयारीसंगै गलेश्वर मन्दिर परिसरमा रहेको भवनलाई भत्काउन लागिएको जनाईएको छ । अहिले भवन रहेको स्थान भन्दा फरक ठाउँमा नयाँ भवन निर्माण गर्न लागिएकाले यस भवनलाई पुरानो सम्पदाको रुपमा जोगाउनको लागि पहल गरेपनि सुनुवाई नभएको

गलेश्वर शिवालय क्षेत्रविकास कोषका उपाध्यक्ष भिमनाथ पराजुलीले बताउनुभयो । उहाँले नयाँ ठाउँमा भवन निर्माण नभैसकेको अबस्थामा पुरानो भवनलाई भत्काउँदा विद्यार्थीहरुको पठनपाठन र आवास व्यवस्थापनमा समेत समस्या आएको गुनासो गर्नुभयो ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषले नयाँ भवन निर्माणको लागि कोषका सदस्य सचिब माधवप्रसाद रेग्मीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरि योजना कार्यान्वयन गर्ने बेनी नगरपालिका कार्यालयसंग सम्झौता समेत भैसकेको छ ।नयाँ स्थानमा भवन बनाउँदा पुरानो भवनलाई समेत भत्काउने र त्यहाँको सामाग्री प्रयोग गर्ने कार्यलाई रोक्न तीन पटक सम्म भवन भत्काउन आएको टोलीलाई फिर्ता गराईएको कोषका कोषाध्यक्ष बमबहादुर पुनले बताउनुभयो ।
उहाँले बर्षौ पुरानो सम्पदाको रुपमा रहेको भवनलाई यथाअबस्थामै संरक्षण गरि संग्राहलयको रुपमा विकास गर्न आबश्यक रहेकोमा जोड दिनुभयो ।
अहिले मजबुत अबस्थामा रहेको दुई तले पुरानो भवनलाई भत्काएर सोही भवनको लागत खर्चेर अर्को भवन बनाउनुको अर्थ नभएको भन्दै स्थानीय सरोकारवालाहरुले समेत भवन मास्ने कार्यको आलोचना गरेका छन् ।

यता पुरानो भवनमा आवासीय रुपमा पठनपाठन गर्दै आएका विद्यार्थीहरुलाई भवन भत्काउने तयारीसंगै पठनपाठन र आवासको समस्या देखिएको छ । अन्नदान क्षेत्रको माथिल्लो तलामा टिनको छानोमुनीको एउटै हलमा अप्ठ्यारो हुने गरि राखिएका विद्यार्थीहरुलाई सहज बसोबासको समस्या देखिएको छ ।टिनको सितले विद्यार्थी विरामी हुने समस्या बढेपनि छेवैमा रहेको तिर्थयात्री भवन खाली रहँदा समेत सो भवनमा विद्यार्थी राख्न क्षेत्र विकास कोषको नेतृत्व तयार नभएपछि अन्नदानकै दोस्रो तलाको हलमा उनीहरुलाई कोचाकोच हुने गरि बसोबास गर्नुपर्ने बाध्यता रहेको छ ।

यता क्षेत्र विकास कोषका सदस्य सचिब एवम् उपभोक्ता समितिका अध्यक्ष समेत रहनुभएका माधव प्र्रसाद रेग्मीले समितिको निर्णय बमोजिम नयाँ बन्ने भवनमा पुरानो भवनका सामाग्रीहरुको उपयोग गर्नको लागि पुरानो भवनलाई भत्काउन लागिएको प्रतिकृया दिनुभयो ।
उहाँले पुरानो भवनलाई संरक्षण गर्ने कि भत्काउने भन्ने बिषयमा बैठकमा छलफल चलेपनि अन्तिममा सर्वसम्मत रुपमा भवनलाई भत्काउने निर्णय भएको बताउनुभयो ।

कोषका अध्यक्ष रुद्रबहादुर केसीले गलेश्वर शिवालय परिसरमा रहेको सो भवनमा पाठशाला सञ्चालन गर्दा विद्यार्थी र तिर्थयात्रीहरुको भिड हुँदा पठनपाठनमा समस्या भएको कारण नयाँ स्थानमा भवन बनाउन लागिएको र जिर्ण भवनलाई हटाएर खुला स्थान बनाउनको लागि पुरानो भवन हटाउन लागिएको प्रतिकृया दिनुभयो ।