पर्यटकलाई आकर्षीत गर्दै सुरुङभित्रको शालिग्राम सङ्ग्रहालय

विकल्प न्यूज/बेनी
पुस ९ गते ।   

बागलुङ नगरपालिका–४ कुडुलेको फेदीमा जमिनभित्र सय मिटर सुरुङ खनेर शालिग्राम सङ्ग्रहालय निर्माण गरिएको छ । सङ्ग्रहालय मंसिर २१ गतेबाट खुल्ला गरिएपछि अवलोकन गर्न आन्तरिक पर्यटकहरु आउन थालेका छन् ।  सङ्ग्रहालय बनाउन करिब ६ करोड रुपैयाँ खर्च भएको अभियानका संरक्षक ऋषि प्रपन्नाचार्यले बताउनुभयो । चन्दा सहयोग र दानबाट उक्त सङ्ग्रहालय निर्माण गरिएको हो । त्रिशूूल आकारको उक्त सुरुङमा मुक्तिनाथ वेद विद्याश्रममा रहेका एक लाख शालिग्राम राखिएको छ । यतिखेर सङ्ग्रहालय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम लोप हुन थालेपछि संरक्षणका लागि सुरुङ निर्माण गरी सङ्ग्रहालय बनाएर संरक्षण गरिएको आचार्यले बताउनुभयो । सुरुङ भित्र शालिग्राम सजावट गर्ने स्थल, वृत्तचित्र प्रदर्शनी, निलगिरि र धवलागिरि हिमाललगायत संरचना निर्माण गरिएको छ । सुरुङमा तिरुपति बालाजीधाममा रहेका २४ हजार शालिग्राम तथा मुक्तिनाथलगायत स्थानमा सङ्कलन गरिएका ७५ हजार गरी झण्डै एक लाख शालिग्राम एकैसाथ दर्शन गर्न मिल्ने व्यवस्थासहित मिलाइएको छ । यहाँ मुक्तिनाथदेखि दामोदर कुण्डसम्मको आकृतिलाई समेत देख्न सकिन्छ । हाल पर्वत, म्याग्दी तथा बागलुङका विभिन्न स्थान तथा मुक्तिनाथ पुग्ने भारतीय पर्यटकसमेत अवलोकनका लागि आउन थालेका बालाजीधामका अध्यक्ष स्वामी ऋषि प्रपन्नचार्यले बताउनुभयो । सङ्ग्रहालयमा वार्षिक एक लाख बढी पर्यटक भित्राउने मन्दिरले लक्ष्य राखेको छ ।