ताजा समाचार:
Search

गौशालाको विकासमा २० लाख विनियोजन गर्ने सांसद गिरीको प्रतिबद्धता

विकल्प न्यूज/जलजला
मंसिर २४ गते ।  प्रतिनिधिसभाका सांसद पदम गिरीले गौशालाको पूर्वाधार विकासका लागि २० लाख रुपैयाँ विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पर्वतको जलजला ७ मिलनचोकमा आयोजित गौमहोत्सवलाई बुधबार सम्बोधन गर्दै सांसद गिरीले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

आगमी आर्थिक वर्षमा संघिय सांसदले विनियोजन गर्न पाउने स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको ६ करोड मध्यबाट गौशालाको पूर्वाधार विकासमा उक्त रकम विनियोजन गर्ने सांसद गिरीले प्रतिबद्धता जनाउनु भएको हो ।

जारी गौमहोत्सवको छैटौं दिन सम्बोधन गर्दै सांसद गिरीले धर्म,संस्कृतिलाई विकास र समृद्धि सँग जोड्न महोत्सव सफल हुने विश्वास व्यक्त गर्नुभयो । गौमहोत्सवले जलजलाको विकास र समृद्धिको ढोका खोल्ने आशा व्यक्त गर्नुभयो । कालाञ्जर,जलजला र गौशालालाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न महोत्सवले ठूलो भूमिका खेल्ने सांसद गिरीको भनाई थियो ।

सांसद गिरी धर्म र संस्कृतिलाई जिवनको उन्नती र प्रगति सँग जोड्न सक्नुपर्ने बताउनुभयो । सांसद गिरीले आफ्नो कार्यकालमा ग्रामिण क्षेत्रका मुख्य सडकहरु कालोपत्रे गरिसक्ने गरी योजना अगाडी बढेको बताउनुभयो । ग्रामिण सडकहरु फराकिलो बनाउनुका साथै कालोपत्रे गर्ने योजनाका साथ अघि बढाइएको उहाँले बताउनुभयो । ‘अवको पाँच वर्ष भित्र ग्रामिण सडकहरु धुला र हिला देख्नुपर्दैन सांसद गिरीले भन्नुभयो ।’

मुलुकमा विकासको मुल फुटिसकेको छ सांसद गिरीले भन्नुभयो ‘आँखै अगाडी विकास र समृद्धि आइसकेको छ ।’ जलजला,कालाञ्जर र गौशालाको एकिकृत विकासको योजना बनाएर अगाडी बढ्न सांसद गिरीले जलजलावासीलाई आग्रह गर्नुभयो ।
सांसद गिरी र एनआरएनएका पूर्व उपाध्यक्ष कुल आचार्यलाई महोत्सव स्थलमा नौमती बाजा र भजनकृतनले भव्यरुपमा स्वागत गरेका थिए ।