सहमति जुटेपछि बेनी नगरपालिकाको नगरसभा आज बस्दै

विकल्प न्यूज/बेनी
असार १५ गते । राजनीतिक रुपमा सहमति जुटेपछि बेनी नगरपालिकाको नगरसभा आइतवार वस्दै छ । अवको केहीबेरमा नगरपालिकाको सभाहलमा नगरसभा बस्न लागेको हो । नेपाली काँग्रेस र नेकपा विच शनिवार राती भएको सहमति अनुसार विशेष नगरसभालाई बजेट सभाका रुपमा रुपान्तरण गर्न लागिएको हो ।

नगर कार्यापालिकाको जेठ ३ गतेका निर्णयहरुलाई लिएर विवाद हुँदै आएको बेनी नगरपालिकामा शनिवारको छलफल पछि विवाद सुल्झीएको छ । शनिबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली काँग्रेस विच भएको छलफल पछि डेढमहिना लामो विवाद सुल्झीएको हो । विवाद मिले सँगै बेनी नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट आउने सुनिश्चित भएको प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिनुभयो ।

दुवै पार्टीका नेताहरु संलग्न वैठकमा बेनी नगरपालिकाको विवाद अन्त्य गर्ने सहमति भएसँगै १५ गतेलाई आह्वान गरिएको बिशेष नगरसभालाई पाँचौ नगरसभाको रुपमा रुपान्तरण गर्ने र उक्त सभाबाट आगामि आर्थिक शर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम र बजेटलाई प्रकृयागत रुपमा प्रस्तुत गर्ने सहमती भएको नेकपाका जिल्ला अध्यक्ष गोविन्द पौडेलले बताउनुभयो ।

आन्तरिक गतिरोधका बिच कार्यपालिकाका एक तिहाई सदस्यहरुले लिखित रुपमा बिशेष नगरसभा माग गरेपछि मेयर हरिकुमार श्रेष्ठले असार १५ गतेलाई एजेण्डाविनै नगरसभा आह्वान गर्नुभएको थियो । त्यसैगरि नगरपालिकाका मेयर श्रेष्ठद्धारा उच्च अदालत पोखरा, बाग्लुङ इजलासमा दर्ता भएको मुद्धालाई मिलापत्र गरि टुङ्ग्याउने सहमति भएको छ ।

सहमति पत्रमा आगामी दिनमा योजना तर्जुमा र बजेट विनियोजन प्रकृयामा नगर प्रमुखको समेत संलग्नता, भुमिका र सम्मानजनक स्थानको प्रत्याभुति गर्ने र शिक्षा, युवा तथा खेलकुद शाखामा थप एक जना जनशक्ति व्यवस्थापन गर्ने उल्लेख छ । नेकपा म्याग्दीका अध्यक्ष पौडेल र नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्वुजा (खमवीर) सहित दुबै पार्टीका जिल्ला स्थित नेताहरु र नगर कमिटीका प्रमुखहरुको सहभागि रहेको बैठकमा नगरपालिकाका मेयर श्रेष्ठ र कार्यपालिका सदस्य कृष्णकुमार विक समेतको उपस्थिति रहेको थियो ।

जेठ ३ गतेको कार्यपालिका बैठकमा उत्पन्न विवादलाई देखाउँदै नगरप्रमुख श्रेष्ठले नगरसभा नै आह्वान नगरेपछि नगरपालिकाको बजेट अनिश्चित बनेको थियो ।

आन्तरिक गतिरोधकै कारण नगरपालिका असार १० गते अगाबै आगामी आर्थिक बर्ष २०७६/७७ को नीति तथा कार्यक्रम र बजेट ल्याउन असफल भएको थियो । असार १० गतेभित्रै नीति, कार्यक्रम तथा बजेट सभामा पेश गर्नुपर्ने बाध्यकारी व्यवस्थालाई समेत अटेर गर्दै नगरसभा आह्वान नभएपछि बेनी नगरपालिकाको सर्वत्र रुपमा आलोचना समेत भएको थियो ।