पुलाचौरमा क्षमता विकास तथा कानुनी सचेतना तालिम सुरु

प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, जेठ २ । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा बिहीबारदेखि क्षमता विकास तथा कानुनी सचेतनासम्बन्धी तालिम सुरु भएको छ । ग्रामीण भेगका महिलाहरुको व्यक्तित्व तथा नेतृत्व विकास गर्ने उद्देश्यसहित बेनी नगरपालिका र वडा कार्यालयको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।

तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले महिलाहरुको क्षमता अभिवृद्धि गरी समाजका हरेक क्षेत्रमा नेतृत्वदायी भूमिकाको विकास गर्नका लागि तालिम आयोजना गरिएको बताइन् । उनले महिलाहरु सधैंभरी चुलोचौकोमा मात्रै सीमित नभई क्षमता विकासका साथसाथै सामाजिक तथा राजनीतिक क्षेत्रमा अगाडि बढ्नुपर्ने बताएकी छिन् ।

बेनपा–५, का वडा अध्यक्ष लक्ष्मण बानियाँले महिलाहरुको आर्थिक सशक्तिकरणसँगै नेतृत्व र क्षमता विकासका लागि वडामार्फत पहल गरिएको बताए । तालिमको प्रशिक्षक ममतादेवी शर्माले क्षमता विकास र कानुनी सचेतनासम्बन्धी विभिन्न विषयहरुमा सहजीकरण गर्ने आयोजकले जनाएको छ ।

तालिमको उद्घाटनसत्र वडास्तरीय महिला सञ्जालका अध्यक्ष शान्ति पौडेलको अध्यक्षता र सचिव ईन्दिरा जिसीको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा साविक पुलाचौर गाविसका ९ ओटै वडामा क्रियाशिल आमा समूहमा आबद्ध महिलाहरुको सहभागिता रहेको छ ।