विकल्प न्यूज/बेनी
फागुन ३० गते । गरिब र विपन्नको उपचारमा सहयोग जुटाउँदै आएको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई सहयोग गर्नेहरु बढिरहेका छन् । कोषलाई सहयोग गरी आजिवन सदस्यता लिन परोपकारी मनका धनीहरु कोषको कार्यालय खोज्दै आउँछन् ।
यस्तै विहिवार कोषलाई सहयोग गर्न यूके र हङकङबाट घर विदामा आएका मोना हङकङका पूर्व कोषाध्यक्ष कर्णबहादुर पुर्जा, यूकेका घन बहादुर गर्बुजा र धनु गर्बुजा कोषलाई सहयोग गर्न बेनीको संगमचोक स्थित कार्यालयमा आइपुग्नुभयो ।
उहाँहरुले कोषलाई १९ हजार रुपियपाँ सहयोग गर्नुभयो । बिहिबार कोषको कार्यालयमा आयोजित कार्यक्रममा सहयोगदाताले अध्यक्ष राजेश शाक्यलाई रकम हस्तान्तरण गर्नुभएको थियो । ‘गरिबीकै कारण उपचारमा आर्थिक समस्या भएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सकिन्छ भन्ने सन्देश प्रवाह भएको छ,’ एक सय जनाको उपचारमा सहयोग गरिसकेका छौ’ शाक्यले भन्नुभयो । ‘कोषले गरेको मानविय सेवाबाट प्रभावित भएर सहयोगी मनका धनीहरु शान्तिकोषको कार्यालय खोज्दै सहयोग गर्न यहाँ सम्म आउनुहुन्छ’ अध्यक्ष शाक्यले भन्नुभयो ।
कोषले म्याग्दी जिल्लामा आर्थिक अभावकै कारण उपचारमा समस्या देखिएका म्याग्देलीको उपचारलाई सहज बनाउन विश्वभर रहेका म्याग्देलीलाई अभियानमा जुट्न अपिल समेत गरेको छ ।
बेनी नगरपालिका–४ की ओमकुमारी शान्ति पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको उपचारमा आर्थिक जुटाइरहेको छ ।