जलजलामा सम्पत्ति तथा भूमिकर वापत २४ लाख रुपैयाँ राजस्व संकलन

विकल्प न्यूज/बेनी
पुस ३० गते ।  

जलजला गाउँपालिकामा छ महिनाको अवधिमा सम्पति तथा भूमिकर वापत २४ लाख रुपैयाँ भन्दा बढी राजस्व संकलन भएको छ ।

साउन १ गतेबाट लागू भएको सम्पति तथा भूमिकर वापत पुष मसान्तसम्म तीन हजार ४०४ जनाले २४ लाख १६ हजार ५११ रुपैयाँ राजस्व तिरेका गाउँपालिकाको नायव सुब्बा भेषनाथ आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार जलजलाका ९ वटै वडाका पाँच हजार ५२१ जनाको २६ हजार ९४८ कित्ता जग्गा भूमि तथा सम्पति करका लागि अभिखेलीकरण भएको छ । गत असारमा भएको गाउँसभाले पुष मसान्तसम्म भूमि तथा सम्पति कर तिर्ने सर्वसाधारणका लागि दश प्रतिशत छुटको सुबिधा दिएको थियो ।  छुट सुबिधाको अबधिको अन्तीम समयमा केही दिनयता गाउँपालिकाको कार्यालयमा आएर राजस्व बुझाउनेको भिड लागेको सम्पति तथा भूमिकरका फोकल पर्सन समेत रहनुभएका आचार्यले बताउनुभयो ।

गाउँपालिकाले पुष ७ देखि २३ गतेसम्म ९ वटै वडा कार्यालयमा घुम्ती टोली परिचालन गरेर दुई हजार ५६७ जनाबाट १४ लाख ५६ हजार ९२३ रुपैयाँ राजस्व संकलन गरेको थियो ।

जलजलाले चालू आर्थिक वर्षदेखि गाउँपालिका क्षेत्रमा रहेको जग्गा तथा उक्त जग्गामा बनेका घर, गोठ, टहराको कर लिन सुरु गरेको छ । सम्पति तथा भूमीकरबाट यस वर्ष चालिस लाख रुपैया आम्दानी हुने अनुमान गरिएको छ ।