विकल्प न्यूज/बेनी
पुस १० गते । म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलबारदेखि आधारभूत रेडियो उद्घोषण तथा पत्रकारिता तालिम सुरु भएको छ । म्याग्दीकाली सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित म्याग्दीकाली एफएम ८८ दशमलव २ मेगाहर्जको आयोजनामा उद्घोषण तथा पत्रकारिता तालिम सञ्चालन गरिएको हो ।
तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले तालिमलाई भरपुर रुपमा उपयोग गरी व्यवहारमा उतार्नुपर्ने बताएकी छिन् । उनले दक्ष तथा सक्रिय रेडियो उद्घोषक एवं पत्रकार उत्पादन हुनुपर्ने भन्दै नगरपालिकामार्फत आवश्यक सहयोग गरिने बताइन् । बेनपाका प्रवक्ता एवं वडानम्बर ८ का वडा अध्यक्ष रामकृष्ण बराईलीले अब बोल्ने भन्दापनि काम गर्नुपर्ने समय आएको भन्दै स्थानीय तहबाट सबैखाले सहयोग गरिने बताए । जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख साधनाकुमारी श्रेष्ठले तालिमबाट गुणस्तरीय समाचारलेखन तथा कार्यक्रमहरु सञ्चालन गर्न सक्ने व्यक्तित्व निर्माण हुनुपर्ने बताएकी थिइन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष तारानाथ शर्माले पत्रकारिता कहिल्यै पनि बासी नहुने भन्दै रेडियो र पत्रकारितामा मात्रै सीमित नभई विविध क्षेत्रमा लाग्ने गरी दक्ष बन्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका निवर्तमान अध्यक्ष सुरत केसी र संस्थापक अध्यक्ष घनश्याम खड्काले मन्तव्य राखेका थिए । तालिमको उद्घाटन कार्यक्रम म्याग्दीकाली सञ्चार सहकारी संस्थाका कार्यवाहक अध्यक्ष विजयकुमार श्रेष्ठको अध्यक्षता, कोषाध्यक्ष एवं रेडियो उपसमिति संयोजक सुविन श्रेष्ठको स्वागत र एफएमका स्टेशन म्यानेजर अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो । एक हप्तासम्म चल्ने तालिममा ३२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।