बेनपाको ३० औं वैठकका निर्णय सार्वजनिक

विकल्प न्यूज/बेनी
पुस ८ गते । बेनी नगरकार्यपालिकाको ३० औं वैठकका निर्णय सार्वजनिक गरिएको छ । आइतवार नगरकार्यपालिकाका प्रवक्ता एवम् वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण बराइलीले निर्णय सार्वजनिक गर्नुभएको हो । नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा पुस ६ गते शुक्रवार बसेको ३० औ कार्यपालिका बैठकले बेनी–पात्लेखेत, बेनी–भकिम्ली, रत्नेचौर–भकुण्डे, मंगलाघाट–चुत्रेनी र गलेश्वर– पात्लेखेत सडकमा पटके कर उठाउने निर्णय भएको प्रवक्ता बराइलीले जानकारी दिनुभयो ।

ट्याक्सी, जिप र भ्यानलाई दैनिक पचास रुपैयाँ र बस, ट्रक, ट्याक्टर, एक्साभेटर र टेलर लगायत ठूला सवारी साधनलाई दैनिक एक सय रुपैयाँका दरले कर उठाउने निर्णय भएको प्रवक्ता बराइलीले बताउनुभयो ।

कार्यपालिका बैठकले नगरपालिका अन्तरगत पशु सेवा शाखाले पशु विकास र सेवा सम्बन्धि तयार पारेको तीस लाख रुपैयाँ बराबरको योजना तथा कार्यक्रम स्विकृत गरेको छ । कृषि क्षेत्रमा बिनियोजन भएको २३ लाख रुपैया वडा पालिकासँग समन्वय गरेर स्थानीय आवश्यकता र सम्भावनाको आधारमा कार्यक्रम बनाएर परिचालन गर्ने निर्णय गरेको छ ।
अधुरो अवस्थामा रहेको लभ्लिहिल दारीम्बोट लिफ्ट सिँचाईलाई साझेदारी कार्यक्रम अन्र्तगत पाँचलाख रुपियाँ उपलब्ध गराउने निर्णय भएको बताउनुभयो । सम्पत्ति तथा भूमिकरको दर पुर्नमूल्याङकन गर्ने निर्णय अनुमोदनका लागि आगामि नगरसभामा पेश गरिने भएको छ ।

सामाजिक विकास समितिले गरेको सिफारिसका आधारमा ३० वटा विद्यालयमा शैक्षिक किट बक्स वितरण गरिने निर्णय भएको उहाँले बताउनुभयो ।