पत्रकार महासंघ म्याग्दी शाखाको साधारणसभा सम्पन्न

विकल्प न्यूज/बेनी
मंसिर २८ गते । पत्रकारिता पेशालाई मर्यादित र जिम्मेवार बनाउनु पर्नेमा सरोकारवालाहरुले सुझाव दिएका छन् । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको शुक्रवार सम्पन्न छैटौं साधारणसभामा बोल्ने बक्ताहरुले पछिल्लो समय पत्रकारिता पेशाप्रति नागरिकहरुले प्रश्न उठाउँदै आएकाले पेशालाई विश्वासनीय,मर्यादित र भरपर्दो बनाउन पत्रकारहरुलाई सुझाव दिएका हुन ।
साधारणसभाका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञावलीले पत्रकारहरु राजनीतिक गर्ने गरेको आरोप लाग्ने गरेकाले यसबाट मुक्त हुनुपर्ने बताउनुभयो ।

पत्रकारहरुले पेशागत मर्यादालाई ख्याल नराख्दा समस्या आउने गरेको बताउनुभयो । उहाँले राजनीतिक पूर्वाग्रही भएर समाचार लेख्दा पत्रकार र सञ्चारमाध्यम माथिको विश्वास घट्ने भएकाले सत्यतथ्य र सन्तुलित समाचार लेख्न पत्रकारहरुलाई सुझाव दिनुभयो । कार्यक्रमा केन्द्रिय सदस्य ज्ञावलीले सरकारले नै न्यूनतम पारिश्रमीकलाई कार्यान्वयनमा ल्याउन नसकेको बताउनुभयो । न्यूनतम पारिश्रमीकलाई कार्यान्वयनमा ल्याउनका लागि पत्रकार महासंघले कठोर आन्दोलन गर्न लागेको उहाँको भनाई थियो । विद्युतिय कारोवार ऐनले गर्दा पछिल्लो समय पत्रकार पक्राउ पर्ने अवस्था आएको बताउँदै उहाँले समाचार लेखेकै भरमा कसैलाई पनि थुन्न नपाइने उहाँले बताउनुभयो । सरकारले ल्याएको विद्युतीय कारोवार ऐनलाई तत्काल संसोधन गर्न उहाँले माग समेत गर्नुभयो ।

केन्द्रिय सदस्य ज्ञवालीले समृद्ध नेपाल बनाउने सरकारको अभियानमा हुने सफलता र असफलतामा दुवै जिम्मेवार पत्रकार पनि हुने बताउदै रचनात्मक भुमिका कार्यक्षेत्रमा देखाउनुपर्ने उहाँको भनाई थियो ।

जिल्ला समन्वय समितिमा सभापति देवेन्द्रबहादुर केसीले जिल्लाको विकास, शुसासन र स्थानीय तहको गतिविधिमा पत्रकारको भूमिका महत्वपुर्ण रहेको बताउनुभयो । बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठले पत्रकार महासंघको संस्थागत विकास र पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्यालले न्यायीक समाज निर्माणमा पत्रकारको भूमिका महत्वपुर्ण बताउनुभयो ।

पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गणेश पौडेल पुर्व सांसद नवराज शर्मा, नेपाल काग्रेस म्याग्दी उपसभापति माधवप्रसाद रेग्मी, म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले पत्रकारिता पेशाको माध्यमबाट समाजको विकास र समृद्धिका लागि ठूलो टेवा पुगेको बताउनुभयो ।

कार्यक्रममा पत्रकारिता कल्याणकारी अक्षकोषका लागि जिल्ला सहकारी संघका अध्यक्ष दिपक कार्कीले सहकारी संघको तर्फ र छोरा प्रजलजन कार्कीको शुभजन्मदिनको तर्फबाट दश÷दश हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । प्रगति प्रतिवेदन महासंघका सचिव गोरखनाथ सुवेदी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष हरिकृष्ण गौतमले प्रस्तुत गर्नुभएको थियो । महासंघका अध्यक्ष शर्माको स्वागत उपाध्यक्ष ठाकुरप्रसाद आचार्यले गरेको समापन कार्यक्रममा संचालन सचिव सुवदीले गर्नुभएको थियो ।