सुआहारा कार्यक्रमको समीक्षा तथा सरोकारवालाबीच छलफल

प्रताप बानियाँ /विकल्प न्यूज
म्याग्दी, कात्तिक १३ । IMG_4677म्याग्दीमा सञ्चालित सुआहारा कार्यक्रमको मङ्गलबार सदरमुकाम बेनीमा समीक्षा तथा सरोकारवालाहरुबीच अन्तत्र्रिmया र छलफल सम्पन्न भएको छ । मिलन म्याग्दीको साझेदारीमा सञ्चालनमा रहेको सुआहारा कार्यक्रमको गत वर्षको समीक्षा गर्नुका साथै चालु वर्षको कार्यक्रमका विषयमा अन्तत्र्रिmया गरिएको हो ।

जिल्ला समन्वय समितिको कार्यालय म्याग्दीको आयोजनामा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको वैठकमा सुआहारा दोस्रो कार्यक्रममार्फत म्याग्दी जिल्लामा सञ्चालन गरिएका गतिविधिहरुको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा युएसआइडीको सहयोग तथा हेलन केलर इन्टरनेशनलको सहकार्यमा गत आर्थिक वर्ष २०७४÷७५ मा सञ्चालित सुआहारा दोस्रो चरण कार्यक्रमको आर्थिक तथा भौतिक प्रगति विवरण प्रस्तुतीकरण गरिएको थियो ।

गतवर्ष सुआहारा कार्यक्रममार्फत जिल्लामा कुल ७१ लाख ९६ हजार पाँचसय रुपैयाँ बजेटमध्ये ६३ लाख ८२ हजार अर्थात् ८८ दशमलव ६ प्रतिशत बजेट बराबरको कार्यक्रमहरु सञ्चालन गरिएको सुआहाराका फिल्ड संयोजक बालकुमारी पुनले बताइन् ।

उक्त बजेटमार्फत खानेपानी सरसफाई तथा स्वच्छता, गुणस्तरीय स्वास्थ्य, कृषि तथा बजारीकरण, पोषण, बहुक्षेत्रीय पोषण योजना सुशासन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण अन्तर्गतका विभिन्न कार्यक्रमहरु समुदायस्तरमा सञ्चालन गरिएको छ ।

कार्यक्रमबाट शीघ्र कुपोषणको एकीकृत व्यवस्थापनसम्बन्धी २ सय ५४ जना स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका ३ सय ६४ जनालाई क्रमशः तीनदिने र दुईदिने आधारभूत तालिम सञ्चालन गरिएको थियो । यसैगरी सुनौलो हजार दिनका आमा, पुरुष र सासु ससुरालाई पोषण चौतारो कार्यक्रम, पानी सुरक्षा योजा तालिम, महिनावारी स्वच्छतासम्बन्धी किशोरीलाई अभिमुखीकरण, ग्रामीण कृषकहरुको सञ्जाल गठन, स्थानीय तहस्तरीय पोषण तथा खाद्यसुरक्षा निर्देशक समिति गठनजस्ता कार्यक्रमका गतिविधिहरु गरिएको संयोजक पुनले जानकारी दिएकी छिन् ।

त्यस्तै चालु वर्षमा कुल ५१ लाख ३७ हजार ३०५ रुपैयाँ बजेट रहेकोमा पोषण, स्वास्थ्य, कृषि, सुशासन, सामाजिक व्यवहार परिवर्तन र सञ्चार एवं लैङ्गिक तथा सामाजिक समावेशीकरणका कार्यक्रमहरु सञ्चालन गरिने तयारी गरिएको सुआहारा म्याग्दीले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले क्षमता अभिवृद्धि हुनेगरी सबैसँग समन्वय गरेर स्थानीयस्तरमा कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् ।

सल्लाहकार समितिको वैठकले जिल्लाको सबै स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्नका लागि अनुमति प्रदान गरेको छ । समन्वय समिति प्रमुख केसीको अध्यक्षता, निमित्त जिल्ला समन्वय अधिकारी गोविन्द सुनारको सञ्चालन र मिलन म्याग्दीका कार्यकारी निर्देशक दिवा पुनको स्वागतमा सम्पन्न कार्यक्रममा सुआहाराका फिल्ड संयोजक पुनले सहजीकरण गरेकी थिइन् ।