प्रताप बानियाँ /विकल्प न्यूज
म्याग्दी, असोज २९ गते । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले राज्यले शिक्षा, स्वास्थ्य र युवा स्वरोजगारलाई प्राथमिकता दिनुपर्ने बताइन् । सोमबार म्याग्दी जिल्लामा क्रियाशिल पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले शिक्षा, स्वास्थ्यका साथै रोजगारलाई उच्च प्राथमिकता दिइएको बताएकी हुन् ।
मन्त्री पुनले राज्यले शिक्षा, स्वास्थ्य र युवा रोजगारका लागि पर्याप्त मात्रामा बजेट विनियोजन गर्नुपर्ने बताउँदै शिक्षाको क्षेत्रमा अब प्राविधिक शिक्षालाई विशेष जोड दिनुपर्ने बताइन् । उनले देशलाई समृद्ध बनाउन र युवा पलायनलाई रोक्नका लागि शिक्षा र स्वास्थ्यको उचित व्यवस्थापन हुनुपर्ने भन्दै आधारभूत आवश्यकताका विषयमा लगानी वृद्धि गर्नुपर्ने बताएकी थिइन् ।
युवाहरुलाई सकारात्मक सोच र चिन्तनका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउँदै मन्त्री पुनले महिला तथा युवालाई उत्पादन र व्यावसायिक क्षेत्रमा जाड्नका लागि पहल गरिने बताइन् । उनले प्रदेश सरकारले सबै क्षेत्रका लागि चाहिने कार्यविधि बनाएर अन्तिममा पु¥याएको बताउँदै आगामी दिनमा कार्यविधि अनुसार काम गरिने बताएकी छिन् । संघ, प्रदेश र स्थानीय तहको निर्वाचन हुनुपर्नेमा तल्लो तहबाट निर्वाचन हुँदा आवश्यक कानुन निर्माण ढिलाई भएको बताउँदै मन्त्री पुनले नयाँ परिवेशमा काम गर्दा कठिनाई समेत भोग्नुपरेको बताइन् ।
उनले सङ्घीय सरकारले ऐन कानुन र नियमहरु छिटो बनाइदिएमा काम गर्न सहज हुनेमा जोड दिँदै स्थानीय तहमा कर्मचारी व्यवस्थापनका साथै नीतिनियम तुरुन्तै बनाएर लागू गर्नेपर्ने बताएकी छिन् । उनले शिक्षाको गुणस्तर सुधार गर्नका लागि आवासीय विद्यालय सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको जानकारी गराउँदै विद्यार्थी तथा दरबन्दी अनुसारका शिक्षक अभाव र भौगोलिक विकटता झेलेका विद्यालयलाई एकीकृत गरी प्रदेशको शैक्षिकस्तर माथि उकास्ने बताइन् ।
आवासीय विद्यालयमा खेल शिक्षकलगायत भौतिक पूर्वाधारको पनि व्यवस्थापन गरिने बताउँदै उनले त्यसबाट दक्ष जनशक्ति उत्पादन हुने अपेक्षा गरेकी छिन् ।
धैरै वस्तीको पहुँचमा आवासीय विद्यालय सञ्चालन गरेर विद्यार्थीहरुलाई उपयुक्त वातावरणमा पढ्ने व्यवस्था मिलाइने मन्त्री पुनको भनाइ छ । मन्त्री पुनका सचिव चन्द्रमणि सापकोटाले मन्त्रालयले आफ्नै वेवसाइट निर्माण गरी सञ्चालन गरेको जानकारी दिँदै वेवसाइटमा जानकारीमूलक सूचनाहरु राखिएको जानकारी दिएका छन् ।
उनले श्रम र रोजगारसम्बन्धी समेत एप्स निर्माणको कार्य अगाडि बढाइएको भन्दै उनले त्यसबाट युवाहरुलाई सिपमूलकसम्बन्धी तालिमका बारेमा जानकारी उपलब्ध गराइने बताए ।