प्रताप बानियाँ /विकल्प न्यूज
म्याग्दी, असोज २९ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संयन्त्र म्याग्दीको आयोजनामा सोमबार सदरमुकाम बेनीमा चियापान कार्यक्रम सम्पन्न भएको छ । पार्टी एकताको ऐतिहासिक सन्दर्भको अवसरमा विजयादशमी तथा शुभदिपावली र छठपर्वको शुभकामना आदानप्रदानसहित चियापान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं सांसद भूपेन्द्रबहादुर थापाले प्राकृतिक सोतस्राधन र जैविक विविधताले सम्पन्न र वातावरणका हिसाबले सुन्दर मुलुकको विकासका लागि सबै मिल्नुपर्ने बताए । उनले मुलुकमा भएको स्रोतसाधनको अधिकतम रुपमा परिचालन गरेर विकास गरिने बताउँदै सत्तापक्षले देश विकासको नेतृत्व गरेपनि प्रतिपक्षले पनि त्यसमा सहयोगी भूमिका खेल्नुपर्ने बताए । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले प्राप्त बजेटको पूर्णरुपमा कार्यान्वयन हुनुपर्ने बताएकी छिन् । उनले प्रदेश सरकार र स्थानीय सरकारले विनियोजन गर्ने बजेट र योजनालाई प्रभावकारी रुपमा सत्तापक्ष, प्रतिपक्ष तथा नागरिक सबै मिलेर अगाडि बढ्नुपर्ने बताइन् । गण्डकी प्रदेशका सांसद विनोद केसीले देशको विकास र सुशासनका लागि नेकपाको एकतालाई उपयोग गर्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी र राप्रपाका जिल्ला अध्यक्ष विरबहादुर थापाले सरकारले जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन् ।
नेकपाका जिल्ला संयन्त्रका नेताद्वय गोविन्द पौडेलको स्वागत र बालकृष्ण सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले मन्तव्य राखेका थिए । कार्यक्रममा नेकपाका नेता, कार्यकर्ता एवं जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।