डिम्ब आधारभूत विद्यालयमा विविध कार्यक्रम

प्रताप बानियाँ /विकल्प न्यूज
म्याग्दी, असोज २४ ।IMG_2925म्याग्दीको बेनी नगरपालिका–५, चिप्लेटीमा सञ्चालित डिम्ब आधारभूत विद्यालयमा मङ्गलबार विविध कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको आयोजनामा अभिभावक भेला, प्रथम त्रैमासिक परीक्षाको पुरस्कार वितरण, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरिएको हो । IMG_2946कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले विकासको मूल आधार शिक्षा भएको हुँदा शैक्षिक क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताएकी छिन् । उनले विद्यालय उमेर समूहका सबै बालबालिकाहरुलाई विद्यालयको पहुँचमा ल्याउनुपर्ने बताउँदै नगर क्षेत्रमा सञ्चालित सरकारी विद्यालयको गुणस्तर सुधार र भौतिक पूर्वाधार विस्तार गर्नका लागि आवश्यक सहयोग गरिने बताइन् ।

बेनपा–४, का वडा अध्यक्ष एवं नगरपालिकाका सामाजिक विकास संयोजक गोविन्दप्रसाद पौडेल र बेनपा–५ का वडा अध्यक्ष लक्ष्मण बानियाँले विद्यालयको भौतिक पूर्वाधार विकासमा आ–आफ्नो ठाउँबाट पहल गरिने बताउँदै गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको अवसरमा विद्यालय भवनका लागि जग्गादान गर्ने समाजसेवी एवं विव्यस अध्यक्ष हेमबहादुर खत्री तथा मनकुमारी खत्रीलाई दोसल्ला ओढाएर, फुलमाला र अबिर लगाई सम्मान गरिएको थियो । यसैगरी विद्यालयलाई कम्प्युटर सहयोग गर्ने विद्यालयका पूर्व विद्यार्थी हाल जापानमा रहेका प्रकाश खत्री र पाँचवटा ह्वाइटबोर्ड उपलब्ध गराउने विद्यालयका प्रधानाध्यापक नारायण पौडेललाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्रअ पौडेलले विद्यालयको शैक्षिक तथा प्रगति विवरण समेटिएको प्रतिवेदन र गत आवको करिब साढे १९ लाख बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यालयको कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा जगन्नाथ आधारभूत विद्यालय गाजनेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर बानियाँ, जनकल्याण माध्यमिक विद्यालय पुलाचौरका शिक्षक शिव बानियाँ, डिम्ब आधारभूत विद्यालयका भूतपूर्व प्रधानाध्यापक गणेशबहादुर कार्की र भूपू विद्यार्थी प्रताप बानियाँले मन्तव्य राखेका थिए ।

विव्यस अध्यक्ष हेमबहादुर खत्रीको अध्यक्षता, प्रधानाध्यापक नारायण पौडेल र शिक्षक रविन नेपालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा शिक्षक सञ्जय कुँवरले स्वागत गरेका थिए ।