महिलाहरुलाई लैङ्गिक विभेदविरुद्धको पैरवीसम्बन्धी तालिमको समापन

प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, असोज १० गते । 42325078_1835565236560969_657115170060894208_nमहिलाहरुका लागि सशक्तिकरण र लैङ्गिक विभेदविरुद्ध पैरवी तथा उद्घोषणसम्बन्धी तालिम मङ्गलबार सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजना, सिविन नेपालको संयोजन र प्लान इन्टरनेशनल नेपालको सहयोगमा म्याग्दीको सदरमुकाम बेनीमा तालिम सञ्चालन गरिएको थियो ।

महिलाहरुलाई सशक्तिकरण गराउने तथा लैङ्गिक हिंसाविरुद्ध पैरवी गर्ने र उद्घोषणकला सिकाउने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकको भनाइ छ । तालिममा व्यक्तित्व तथा नेतृत्व विकास, महिला सशक्तिकरण, लैङ्गिक हिंसा न्युनीकरण, उद्घोषण तथा भाषणकला लगायतका विविध विषयहरुमा सहजीकरण गरिएको आयोजकले जानकारी दिएको छ ।
तालिममा बेनी नगरपालिकाका महिला जनप्रतिनिधिहरु, महिला सहकारीकर्मी, बेनपाका महिला कर्मचारीहरु, एकल महिला, योङ्ग गल्र्स नेटवर्कमा आबद्ध किशोरीहरु, लायन्स क्लब, आमा समूहका पदाधिकारीसहित ४० जनाले सहभागिता जनाएका थिए । तीन दिनसम्म चलेको तालिमको प्रमुख प्रशिक्षक एवं सञ्चारिका समूह गण्डकी प्रदेशका अध्यक्ष जमुना वर्षा शर्मा र न्यु वेष्ट प्वाइन्ट कलेज बेनीका प्रिन्सिपल विणा झाले सहजीकरण गरेका थिए । IMG_1989तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले महिलाहरुको व्यक्तित्व र नेतृत्व विकासका लागि तालिम आयोजना गरिएको बताइन् । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ भूषाल र प्रवक्ता रामकृष्ण बराईलीले महिलाहरुको क्षमता अभिवृद्धिका लागि आगामी दिनमा नगरपालिकामार्फत सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिने बताएका थिए ।

तालिमका प्रमुख प्रशिक्षक जमुना वर्षाले तालिम सिकाइका क्रममा सिकेका ज्ञान र सिपलाई पूर्णरुपमा व्यवहारमा उतार्न आग्रह गरेकी छिन् । कार्यक्रममा सहभागी मैना बानियाँ कार्की र हिरा शर्माले अनुभव मन्तव्य सुनाएका थिए । सिविन नेपाल म्याग्दीका जिल्ला संयोजक प्रेम सोङ्गमेनको अध्यक्षता र नगर कार्यपालिका सदस्य गौरी थापामगरको सञ्चालनमा तालिम समापन भएको थियो ।