विकल्प न्यूज/बेनी
असोज ८ गते । महिलाहरुका लागि सशक्तिकरण र लैङ्गिक विभेदविरुद्ध पैरवी तथा उद्घोषण तालिम म्याग्दीमा सुरु भएको छ । बेनी नगरपालिकाको आयोजना, सिविन नेपालको संयोजन र प्लान इन्टरनेशनल नेपालको सहयोगमा सदरमुकाम बेनीमा तालिम सञ्चालन गरिएको हो ।
महिलाहरुलाई सशक्तिकरण गराउने तथा लैङ्गिक हिंसाविरुद्ध पैरवी गर्ने र उद्घोषणकला सिकाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले बताइन् । तालिममा व्यक्तित्व तथा नेतृत्व विकास, महिला सशक्तिकरण, लैङ्गिक हिंसा न्युनीकरण, उद्घोषणकला लगायतका विविध विषयहरुमा सहजीकरण गरिने आयोजकले जानकारी दिएको छ ।
तालिममा बेनी नगरपालिकाका महिला जनप्रतिनिधिहरु, महिला सहकारीकर्मी, बेनपाका महिला कर्मचारीहरु, एकल महिला, योङ्ग गल्र्स नेटवर्कमा आबद्ध किशोरीहरु, आमा समूहका पदाधिकारीसहित ४० जनाको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने तालिमको प्रमुख प्रशिक्षक एवं सञ्चारिका समूह गण्डकी प्रदेशका अध्यक्ष जमुना वर्षा शर्माले सहजीकरण गरिरहेकी छिन् ।
उपप्रमुख बरुवालको अध्यक्षता र सिविन नेपाल म्याग्दीका जिल्ला संयोजक प्रेम सोङ्गमेनको सञ्चालनमा सम्पन्न तालिमको उद्घाटनसत्रमा नगर कार्यपालिका सदस्य गौरी थापामगर, सहजकर्ता जमुना वर्षा र अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष मुना बानियाँले मन्तव्य राखेका थिए ।