रेडक्रस दिवसमा विद्यालयमा सरसफाई

विकल्प न्यूज /बेनी
म्याग्दी, भदौ २० IMG_0752५६औं नेपाल रेडक्रस दिवसको अवसर पारेर मङ्गलबार पौलस्त्य माध्यमिक विद्यालय परिसर भीरमुनीमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको आयोजना र विद्यालय तथा युवा रेडक्रस सर्कलको सहआयोजनामा विद्यालयमा सरसफाई गरिएको हो ।

रेडक्रस दिवसको अवसरमा विद्यालय परिसरमा गरिएको सरसफाई कार्यक्रममा रेडक्रसका पदाधिकारी, विद्यालयका शिक्षकहरु, युरेसका पदाधिकारी र विद्यार्थीहरुले सहभागिता जनाएका थिए । उनीहरुले विद्यालय परिसरमा उम्रिएको झारपात उखेल्नुका साथै कागजका टुक्रा सङ्कलन गरी छुट्टाछुट्टै फोहोरको व्यवस्थापन गरेको बताएका छन् । फोहोरलाई जल्ने र नजल्ने छुट्टाछुट्टै व्यवस्थापन गरी विद्यालय परिसरको सफाई गरिएको थियो ।

रेडक्रस दिवसको अवसरमा आयोजित सरसफाई कार्यक्रममा उपशाखाका सभापति यामबहादुर बानियाँले फोहोरमैलाले वातावरणलाई समेत प्रत्यक्ष असर गर्ने भएकाले नियमित रुपमा सरसफाई गर्नुपर्नेमा जोड दिएका थिए । विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बानियाँले विभिन्न दिवसको अवसर पारेर विद्यालयमा रचनात्मक क्रियाकलापहरु सञ्चालन गर्ने गरिएको बताएका छन् ।