मृर्गौला पीडित विश्वकर्मालाई आर्थिक सहयोग

प्रताप बानियाँ /विकल्प न्यूज
म्याग्दी, भदौ १३ । IMG_0533उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगखोलाकी ३९ वर्षीया पार्वती विश्वकर्मालाई आर्थिक सहयोग भएको छ । नवीन आनन्द योग शिविर केन्द्र गलेश्वर म्याग्दीको अभियान समितिमार्फत सङ्कलित नगद ३२ हजार ६९० रुपैयाँ सहयोग गरिएको हो ।

दुवै मृर्गौलामा खराबी आएपछि अहिले पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेकी विश्वकर्मालाई अभियान समितिले गलेश्वर बजार वारी र पारी आर्थिक सङ्कलन गरेर सहयोग गरेको जनाएको छ । सङ्कलित रकम गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुन, नवीन आनन्द योग शिविर केन्द्र म्याग्दीका सचिव सुरेन्द्र शर्मा, प्रशिक्षक कौप्रसाद बुढा, योग शिविर केन्द्र गलेश्वरका पदाधिकारीले विश्वकर्मालाई हस्तान्तरण गरेका थिए ।

गत वर्षदेखि मृर्गौलाको डाईलासीस गर्दै आइरहेकी उनलाई उपचारमा समस्या भएपछि अभियान चलाएर आर्थिक सहयोग उपलब्ध गराइएको योग शिविर केन्द्रका अध्यक्ष बालकुमार लामिछानेले बताए । उनका अनुसार विश्वकर्माको मृर्गौलाको उपचारमा अझै पनि आर्थिक सहयोगको अभाव रहेको हुँदा सहयोगको आग्रह समेत गरिएको छ । मृर्गौलापीडित विश्वकर्माको हप्ताको दुई पटकसम्म डाईलासीस गर्नुपर्ने भएकाले घरको आर्थिक अवस्था अत्यन्त कमजोर हुँदा उपचारमा समस्या भैरहेको छ । गलेश्वरमा बस्दै आएकी उनको दुईवटा छोरी र एक छोरा रहेका छन् ।
आर्थिक सहयोग जुटाउने उद्देश्यले विश्वकर्माको नाममा सदरमुकाम बेनीमा रहेको ग्लोबल आइएमई बैंकमा ४८०७०१०००३५०२ नम्बर रहेको खाता खोलिएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनले योग शिविर केन्द्रले गरेको सहयोग मानवीय र सराह्रनीय रहेको बताए । कार्यक्रममा नवीन आनन्द योग शिविर केन्द्र म्याग्दीका सचिव सुरेन्द्र शर्मा र प्रशिक्षक कौप्रसाद बुढाले मन्तव्य राखेका थिए ।

कार्यक्रम गलेश्वर योग केन्द्रका अध्यक्ष बालकुमार लामिछानेको अध्यक्षता, सचिव निशा महतको सञ्चालन र कोषाध्यक्ष विन्दु कार्कीका स्वागतमा सम्पन्न भएको थियो । सोही अवसरमा गलेश्वरमा योग शिविरका लागि २५ जना सदस्यहरु पुगेको हुँदा शाखालाई वैधानिकता दिन केन्द्रलाई सदस्यता शुल्कसहित सिफारिस गरिएको छ । गत बैशाखदेखि योग शिविर हुँदै आइरहेको योग शिविर गलेश्वर शाखाले सो क्षेत्रमा सामाजिक क्रियाकलापहरु गर्दै आइरहेको छ ।