सदस्यता विस्तार अभियानमा म्याग्दी क्याम्पस

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ४ भदौ । Myagdi Campus 1बेनीमा समुदायद्धारा सञ्चालीत म्याग्दी बहुमुखी क्याम्पसले सदस्यता विस्तार अभियान सुरु गरेको छ । पछिल्लो पटक भएको क्याम्पस सभाले गरेको आजिवन सदस्यता खुल्ला गर्ने निर्णय कार्यान्वयनका लागि सञ्चालक समितिले पहल थालेको हो । लामो समयदेखि रोकीएको सदस्यता वितरण खुल्ला गर्ने निर्णय कार्यान्वयनमा लगिएको सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

अध्यक्ष सुवेदीका अनुसार पाँच हजार रुपैया देखि ४९ हजार ९९९ रुपैया सहयोग गर्नेलाई सहयोगी, पचास हजार देखि एक लाख ९९ हजार ९९९ रुपैया सहयोग गर्नेलाई बरिष्ठ, दुई लाख देखि नौ लाख ९९ हजार ९९९ रुपैयाँ सहयोग गर्नेलाई आजिवन र दश लाख भन्दा बढी सहयोग गर्नेलाई संरक्षक सदस्यता प्रदान गर्ने व्यवस्था छ ।

संरक्षक सदस्यताका लागि सहयोग गर्नेको नाम क्याम्पस सभाको दुई तिहाई बहुमतले अनुमोदन गर्नुपर्ने क्याम्पस प्रमुख टिकाराम सापकोटाले बताउनुभयो । स्नाकोत्तर तह र प्राबिधिक शिक्षालय सञ्चालनका लागि वि.स २०७३ मा सञ्चालीत महायज्ञमा सहयोग घोषणा गरेका दाताहरुलाई घोषणा गरेको दान उपलब्ध गराउन क्याम्पसले अपिल गरेको छ ।

बिबिएस पहिलो ब्याचका विद्यार्थीहरुले घोषणा गरेको दुई लाख एक हजार ११० रुपैयाँ मध्य बाँकी ४५ हजार रुपैया आईतबार उपलब्ध गराएका सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले बताउनुभयो । दश जोड दुई र स्नातक तहमा शिक्षा, ब्यवस्थापन र मानवीकी संकायको पठनपाठन सञ्चालन हुदै आएको क्याम्पसमा गत शैक्षिक सत्रदेखि ब्यवस्थापन संकायमा स्नाकोत्तर तहको कक्षा सुरु भएको छ ।

एक हजार जना भन्दा बढी विद्यार्थी अध्ययनरत क्याम्पसमा प्राबिधिक विषयको कक्षा सञ्चालनको तयारी भएको छ । शैक्षिक गुणस्तर सुधारका लागि क्युयुएए प्रणालीको प्रक्रियामा रहेको छ । पछिल्लो समय गणित विषय अध्ययन गर्ने विद्यार्थीको संकट परेको छ । शिक्षा र मानवीकी संकायमा गणित विषय लिएर अध्ययन गर्ने विद्यार्थी संख्या न्युन भएपछि सो विषयको पठनपाठन बन्द गर्ने की चलाउने भन्ने विषयमा छलफल चलेको छ ।