गलेश्वरमा एक महिनामा एक लाख भक्तजन

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २८ साउन ।   IMG_8027बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब एक लाख भक्तजनले पुजाआजा गरेका छन् ।

साउन महिनाको सोमबारको दिन पारेर गलेश्वरको दर्शन र पुजाआजाका लागि म्याग्दीका साथै देशका विभिन्न ठाउँबाट एक लाख जना भन्दा बढी भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । अन्तिम सोमबारका दिन तिस हजार जना भन्दा बढी भक्तजन आएका कोषका सचिव माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।IMG_8009

बागलुङ, पर्वत, कास्की, चितवन, काठमाडौ, रुपन्देही लगायतका ठाउँबाट भक्तजनहरु आएका सचिव रेग्मीले बताउनुभयो । तेस्रो सोमबारसम्म नौ लाख रुपैया भेटि संकलन भएको थियो । अन्य दिनभन्दा अन्तिम सोमबारको दिनको भेटि बढी हुने कोषको अनुमान छ । मंगलबार भेटि गणना गरेर सार्वजनीक गर्ने सचिव रेग्मीले बताउनुभयो ।IMG_8016कालीगण्डकी किनारको नौ रोपनी क्षेत्रफलमा फैलीएको एउटै चट्टानमाथि अवस्थित गलेश्वर मन्दिरमा साउन महिनाको सोमबार, बाला चर्तुदर्शी र शिवरात्रीमा बिशेष धार्मीक मेला लाग्ने गर्छ । धार्मीक ग्रन्थहरुमा सतदेवीको गला पतन भएकाले गलेश्वर नाम रहन गएको किम्बदन्ती छ ।
गलेश्वरको पुजाआजा र दर्शन गर्नाले पारिवारीक सुख, शान्ति, ऐश्वर्य प्राप्ती हुने धार्मीक विश्वास रहेको कोषका उपाध्यक्ष पण्डीत भिमनाथ पराजुलीले बताउनुभयो । अन्तिम सोमबारका दिन बेनी शिवालय, दरवाङ शिवालय लगायतका शिवालयहरुमा पनी भक्तजनको घुईचो लागेको थियो ।

साउन महिनाको सोमबारका दिन ब्रत बसेर शिवालयमा गई पुजाआजा गरेमा पारिवारीक सुख प्राप्त हुने जनविश्वास छ । बिशेष गरेर बिवाहीत महिलाहरु पारिवारीक सुख र अबिवाहीतहरु राम्रो वर पाइयोस भन्ने कामना सहित साउनको सोमबार ब्रत बस्ने चलन रहेको छ ।