सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २८ साउन ।म्याग्दीको सदरमुकाम स्थित बेनी अस्पतालमा अञ्चल अस्पतालले रिफर गरेका बिरामीको सफल शल्यक्रिया भएको छ । बागलुङ स्थित धवलागिरी अञ्चल अस्पतालले उपचार गर्न नसकेर रिफर गरिएका गर्भवतीलाई बेनी अस्पतालमा शल्यक्रिया मार्फत सुत्केरी गराइएको हो । सुत्केरी बेथा लगेर शुक्रबार अञ्चल अस्पतालमा भर्ना भएकी बागलुङ नगरपालिका ८ सिगानाकी ३५ वर्षिया सरस्वती जिसीलाई सोही दिन राती २ बजे अस्पतालले पोखरा रिफर गरेको थियो ।
परिवारले रातीनै ट्याक्सी खोजेर जिसीलाई पोखरा लैजाने क्रममा पर्वतको पातीचौरमा पहिरोले सडक अवरुद्ध भएपछि फर्काएर कुश्मा अस्पतालमा ल्याइएको थियो । “सडक अवरुद्ध भएपछि हेलीकप्टर खोजीएपनि राती भएकाले सम्भव भएन” सरस्वतीकी सासु पदमकुमारी क्षेत्रीले भन्नुभयो “कुश्मा अस्पतालकी चिकित्सक हेमा छन्त्यालले आफै बेनी अस्पताल ल्याएर शल्यक्रिया गराई सुत्केरी गराएपछि बच्चा र आमाको ज्यान बच्यो ।”
प्रसब पिडामा करिब दश घण्टा छटपटिएकी जिसीको डाक्टर छन्त्यालको नेतृत्वमा बेनी अस्पतालका डाक्टर बिवेक चोवे, स्टाफ नर्स रिमा बस्याल र मनदेवी गौतमको टोलीले बिस मिनेटमै शल्यक्रिया गरेर शनिबार बिहान प्रसुती गराएको थियो । बेनी अस्पतालको बिशेष कक्षमा उपचाररत जिसी र उनका छोराको अवस्था सामान्य छ ।
“यहाँ ल्याउँदा बिरामीको अवस्था जटिल थियो तर आवश्यक औजार र जनशक्ति तयारी अवस्थामा राखीएकाले शल्यक्रिया सफल भयो” अस्पतालका प्रमुख बरिष्ठ चिकित्सक डाक्टर रोशन न्यौपानेले भन्नुभयो “बेनीमा शल्यक्रिया सेवा उपलब्ध भएपछि म्याग्दीका साथै बागलुङ र पर्वतका सर्वसाधारणले समेत सेवा लिएका छन् ।”
तिन वर्षअघि ५० सैया क्षमत्तामा स्तरोन्नती भएको बेनी अस्पतालले बिरामीको स्वास्थ्य परिक्षण, परामर्श, आकस्मीक उपचार, प्रसुती, ल्याब, एक्सरेसंगै शल्यक्रिया मार्फत प्रसुती, हर्नीया, हाईड्रोशिल, एपेन्डीसाईट्स, हाडजोर्नी सम्बन्धि शल्यक्रिया सेवा उपलब्ध गराउदै आएको छ । गत आर्थिक वर्षमा अस्पतालमा प्रसुती सेवा लिएका ८८९ जना मध्य ७४ जनाले शल्यक्रिया मार्फत बच्चा जन्माएका थिए ।
अस्पतालको अन्तरंग बिभागबाट तिस हजार ३३० र आकस्मीक कक्षबाट छ हजार ६३८ जनाले सेवा लिएका छन् । छ हजार ३१ वटा मेजर र माईनर शल्यक्रिया सेवा दिएको अस्पतालले पाँच हजार २०२ जनालाई एक्सरे, ६३७ जनालाई ईसीजी र ५९३ जनालाई सुरक्षित गर्भपतन सेवा उपलब्ध गराएको छ ।
पुरानो भवन भत्काएर नयाँ निर्माण तथा स्थानान्तरण गर्नुपर्दा समस्या भएपछि सेवा प्रवाह र सेवाग्राहीको संख्यामा असर नपरेको बरिष्ठ चिकित्सक न्यौपानेले बताउनुभयो । यसैबीच आर्थिक वर्ष २०७४÷७५मा अघिल्लो वर्षको सहित चार करोड २६ लाख ८९ हजार ९३६ रुपैया आम्दानी गरेको अस्पतालले दुई करोड ८४ लाख १५ हजार ८३४ रुपैया खर्च भएको जनाएको छ । अस्पतालको कोषमा एक करोड ५३ लाख रुपैया बचत रहेको अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।