प्रताप बानियाँ /विकल्प न्यूज
म्याग्दी, साउन २५ ।म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय संयन्त्रहरुसम्बन्धी राष्ट्रियस्तरमा जनप्रतिनिधिहरुलाई अभिमुखीकरण सुरु भएको छ । जनप्रतिनिधिहरुलाई कानुनसम्बन्धी विषयमा जानकारी गराउने उद्देश्यसहित कार्यक्रम गरिएको हो ।
बेनी नगरपालिकाको आयोजना, प्लान इन्टरनेशनलको सहयोग र सिविन नेपाल म्याग्दीको सहयोगमा तालिम सञ्चालन गरिएको आयोजकले जनाएका छन् । अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले कानुनसम्बन्धी विषयको अभिमुखीकरण तालिमले जनप्रतिनिधिहरुलाई न्याय सम्पादनका क्रममा सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका थिए ।
दुई दिनसम्म चल्ने तालिममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, अधिवक्ता ममतादेवी शर्मा र प्रहरी निरीक्षक दिपक थापाले सहजीकरण गर्ने भएका छन् । तालिममा बेनी नगर कार्यपालिकाका सदस्यहरु, १० ओटै वडाका अध्यक्ष तथा सदस्यसहित जनप्रतिनिधि एवं सरोकारवालाहरुको सहभागिता रहेको छ ।
नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षता, उपप्रमुख सन्जु बरुवालको स्वागत र सिविन नेपाल म्याग्दीका प्रमुख प्रेम सोङमेनको सञ्चालनमा सम्पन्न कार्यक्रममा बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईली र प्लान नेपालका क्षेत्रीय प्रवन्धक नितु आचार्यले मन्तव्य राखेका थिए ।