विकल्प न्यूज /बेनी
असार ३२ गते । शून्य दरबन्दिमा सञ्चालीत म्याग्दीका ४२ वटा सामुदायिक विद्यालयले एक करोड रुपैयाँ भन्दा बढी अनुदान पाएका छन् ।
समुदाय स्तरबाट चन्दा सहयोग जुटाएर निजी स्रोतका शिक्षकको तलबभत्ताको ब्यवस्था गर्दै आएका १९ वटा माध्यमिक, १–५ तहका १० र १–८ तहका १३ वटा सामुदायीक विद्यालयलाई एक करोड नौ लाख ९७ हजार रुपैया अनुदान उपलब्ध गराएको जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईले जनाएको छ ।
आर्थिक वर्ष २०७५÷७६ का लागि कम्तीमा एक जना शिक्षकलाई एक वर्षको तलब उपलब्ध गराउन सक्ने गरी १९ वटा माविलाई ७६ लाख र २३ वटा आधारभुत विद्यालयलाई शिक्षण सिकाई अनुदान शिर्षकमा शिक्षकको तलबभत्ताका लागि अनुदान उपलब्ध गराएको ईकाईका प्रमुख दलबहादुर थापाले जानकारी दिनुभयो । सञ्चालन अनुमती भएपनी दरबन्दि तथा राहत अनुदान नपाएका सामुदायीक विद्यालयहरुलाई लक्षित गरी संघीय सरकारले उक्त बजेटको व्यवस्था गरेको हो ।
एउटा विद्यालयले विद्यार्थी संख्या र सिकाई उपलब्धिको आधारमा एक लाख २९ हजार रुपैया देखि चार लाख १५ हजार रुपैया सम्म अनुदान पाएका छन् । निजी स्रोतका शिक्षकको तलबभत्ताको व्यवस्था गर्न नसकेर बन्द हुने अवस्थामा पुगेको सामुदायीक विद्यालयलाई ठूलो राहत पुगेको धवलागिरी गाउँपालिका २ को लमसुङ माविका प्रअ तुलसी सुवेदीले बताउनुभयो ।
शून्य दरबन्दिमा सञ्चालीत सामुदायीक विद्यालयको अनुदानका लागि आगामी आर्थिक वर्षमा धवलागिरी गाउँपालिकाले १८ लाख ५० हजार र मंगला गाउँपालिकाले २५ लाख रुपैया बजेट बिनियोजन गरेका छन् । यसैगरी कार्यालयले १६ लाख रुपैयाँका दरले उपलब्ध गराएको अनुदानबाट ११ वटा विद्यालयमा दुई कोठे कक्षा कोठा भवन निर्माण भएका छन् ।
३६ लाख रुपैयाँका दरले उपलब्ध गराएको अनुदानबाट आठ वटा विद्यालयमा चार कोठ भवन निर्माण भएको ईकाईका प्रमुख थापाले जानकारी दिनुभयो । ९ वटा विद्यालयमा शौचालय निर्माणका लागि छ लाख र १२५ वटा कक्षा कोठा मर्मतका लागि पचास हजार रुपैयाका दरले अनुदान वितरण भएको छ । विद्यालय भवन, शौचालय निर्माण, मर्मत तथा अन्य पूर्वाधारका लागि दश करोड २३ लाख रुपैयाँ बजेट बिनियोजन भएकोमा नौ करोड ६९ लाख ६४ हजार रुपैयाँ खर्च भएको छ ।
१५ वटा विद्यालयमा ईन्टरनेटको माध्यमबाट अध्यापन गराउनका लागि सूचना प्रबिधिका सामाग्री र २० वटा विद्यालयमा पुस्तकालय स्थापना गर्न छ लाख पचास हजार रुपैयाका दरले सहयोग गरिएको छ । उच्च सिकाई उपलब्धि भएको बेनपा ६ को जामुनाखर्क माविलाई दुई लाख प्रोत्साहन पाएको छ ।
न्युन सिकाई उपलब्धि भएको चन्द्रज्योती मावि खिवाङ, जनजागृती मावि मल्कवाङ र राष्ट्रिय मावि रुमलाई एक लाख रुपैयाका दरले शिक्षण सिकाईमा सुधार ल्याउन सहयोग गरिएको छ । अनौपचारीक शिक्षा तथा निरन्तर शिकाई कार्यक्रम अन्तरगत ५७ वटा साक्षरता कक्षा सञ्चालन गरेको कार्यालयले म्याग्दीलाई साक्षर जिल्ला घोषणा गर्नु आर्थिक वर्ष २०७४÷७५ को मुख्य शैक्षिक उपलब्धि मानेको छ ।