प्रताप बानियाँ/बेनी
असार २४ गते ।
म्याग्दीको बेनी नगरपालिकाको कार्यालयमार्फत सञ्चालित विकासे योजनाहरुको शनिबार अनुगमन भएको छ । नगरपालिकाको आयोजनामा जनप्रतिनिधि र कर्मचारी तथा स्थानीयद्वारा विकासका विभिन्न योजनाको स्थलगत अनुगमन तथा निरीक्षण गरिएको हो ।
बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ र उपप्रमुख सन्जु बरुवालको नेतृत्वमा सडक विस्तार तथा स्तरोन्नति, ठेकेदारको कामकार्वाही, विद्यालय घेराबार, खेलमैदान निर्माण, वडा कार्यालय तथा स्वास्थ्यचौकी घेराबार निर्माणका योजनाहरुको अनुगमन गरिएको बेनी नगरपालिकाले जनाएको छ । अनुगमन टोलीले बेनी नगरपालिका अन्तर्गत ५, ६, ९ र १० नम्बर वडाको विभिन्न स्थानमा भएका विकास निर्माणका गतिविधिको अनुगमन गरेको थियो ।
अनुगमन टोलीले एक दर्जनभन्दा बढी योजनाहरुको अनुगमन गरिएको बताएको छ । टोलीले बेनी–पात्लेखेत सडक स्तरोन्नति, देउराली खानेपानी योजना, नेप्टेचौर–गिठीनी–पात्लेखेत सडक मर्मत योजना, घतान स्वास्थ्यचौकी घेराबार र गेट निर्माण, बेनपा–९ वडा कार्यालय घेराबार, पर्खाल एवं गेट निर्माण, राष्ट्रिय माध्यमिक विद्यालय घेराबार तथा गेट र खेलमैदानमा स्टेच निर्माण, गिठीनी–हिल सडक स्तरोन्नति, पात्लेखेत शिवालय मन्दिर ढलान, ओख्ले आधारभूत विद्यालय गेट निर्माण, नयाँगाउँ–जगन्नाथ सडक स्तरोन्नति योजनाको अनुगमन गरेको थियो ।
सडक बोर्डमार्फत स्तरोन्नति गरिएका सडकतर्फका योजनाहरुमा नेप्टेचौर–गिठीनी–पात्लेखेत, महारानी–छाप–ठूलोखाला र नयाँगाउँ–जगन्नाथ सडक स्तरोन्नति रहेका छन् । यी योजनाहरुमा क्रमशः १७ लाख, १० र ८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
यी योजनामध्ये नयाँगाउँ–जगन्नाथ सडक स्तरोन्नतिको काम सकिएको छ भने नेप्टेचौर–गिठीनी–पात्लेखेत सडक र महारानी–छाप–ठूलोखोला सडकमा सोलिङ सुधार गर्नुपर्ने अवस्था रहेको नगरपालिकाका इन्जिनियर हरि आचार्यले बताए । ठेकेदारमार्फत गरिएको सडकका योजनामा गुणस्तरीय काम नभएको अनुगमन टोलीमा सहभागी सदस्यहरुले गुनासो गरेका छन् ।
सडकको दायाँबाँया लगाइएको ग्याविन जाली र लगाउनुपर्ने अवस्थाका सडकको पनि अनुगमन गरिएको थियो । ढलान तथा सोलिङ गरिएका सडकको लम्बाई र चौडाई नापजाँच गरिएको थियो ।
बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले नगर क्षेत्रमा सञ्चालित विकासे गतिविधिहरुको अवस्था सन्तोषजनक रहेको बताउँदै विकास योजनाहरुमा गुणस्तरीय काम हुनुपर्नेमा जोड दिइएको बताए । नगरपालिकामार्फत सञ्चालित योजना र सडक बोर्डका योजनाहरुको प्रगति समग्रमा सन्तोषजनक रहेपनि केही सडकको अवस्था सुधार गर्नुपर्ने रहेको उपप्रमुख सन्जु बरुवालले बताइन् । आगामी दिनहरुमा कमी कमजोरी सुधार गरेर अघि बढ्ने र विकासे गतिविधिमा स्थानीयले पनि सहयोग गर्नुपर्ने बताइएको छ ।
अनुगमनमा नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत लोकनाथ भुसाल, प्रवक्ता रामकृष्ण बराईली, कोष तथा लेखा नियन्त्रक छविन्द्र बेलबासे, राष्ट्रिय अनुसन्धान अधिकृत अर्जुन शर्मा, बेनपा ५ का वडा अध्यक्ष लक्ष्मण बानियाँ, ९ का वडा अध्यक्ष बेलबहादुर चोखाल, नगरपालिकाका लेखा प्रमुख युक्तप्रसाद शर्मा, लेखापाल निर्मला शर्मा, संगम म्याग्दीका अध्यक्ष दीपक पौडेल, इन्जिनियरद्वय हरि आचार्य र अर्जुन थापाको सहभागिता रहेको थियो ।