नगरपालिका स्तरीय योजना तर्जुमा तथा बजेटिङ्ग सम्बन्धी प्रशिक्षण

विकल्प न्यूज/बेनी
जेठ २० गते ।

????????????????????????????????????

आगामी आर्थिक बर्षको योजना तर्जुमा तथा बजेटिङको सम्बन्धमा बेनी नगरपालिकाका पदाधिकारीहरु तथा कर्मचारीहरुको लागि प्रशिक्षण दिन सुरु गरिएको छ । आईतवारदेखि सूरु भएको प्रशिक्षण २ दिनसम्म सञ्चालन हुने जनाइएको छ ।
जिल्ला समन्वय समितिको आयोजनामा सुरु भएको तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समितीका प्रमुख देवेन्द्र बहादुर केसीले तालिमले आगामी बर्षको लागि उपलब्धीमुलक योजना छनौट तथा बजेट विनियोजन गर्न स्थानीय तहलाई सकरात्मक सहयोग पुग्ने बताउनुभयो ।

उहाँले नयाँ परिबेशमा स्थानीय सरकारहरुका प्राथमिकता, जनताको चाहना र सरकारको मार्गदर्शन अनुसार जनमुखी योजना छनौट गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले तालिमले परिमार्जित कार्यविधिमा रहेर सिमित स्रोत र साधनलाई अधिकतम उपयोग गरि योजना तथा बजेटिङ गर्न सहयोग पुग्ने धारणा राख्नुभयो ।

त्यस्तै कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र उपमेयर सञ्जु बरुवालले संघिय र प्रदेश सरकारले लिएका लक्ष्य र उदेश्य अनुरुप नै स्थानीय सरकारले समेत आफ्नो प्राथमिकता निर्धारण गरि संघ र प्रदेशसंग समन्वय हुने गरि योजना निर्माण तथा बजेट विनियोजन गर्ने सबालमा प्रशिक्षण कार्यक्रम फलदायी हुनेमा जोड दिनुभयो ।

जिल्ला समन्वय अधिकारी यामप्रसाद सुवेदीले स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्रालयले जिल्लाका सबै स्थानीय तहमा सञ्चालन गर्नको लागि पठाएको उक्त प्रशिक्षण कार्यक्रम जिल्लाका ५ वटै गाउँपालिकाहरुमा सम्पन्न गरिसकेको जानकारी गराउँदै मन्त्रालयबाट आएका थप कार्यक्रमहरुलाई समेत सोही बमोजिम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

जिसस प्रमुख केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शाखा अधिकृत गोविन्द सुनारले गर्नुभएको थियो । सो प्रशिक्षण कार्यक्रममा जिसस प्रमुख केसी, प्रजिअ अधिकारी, समन्वय अधिकारी सुवेदी, कोष नियन्त्रक छविन्द्र बेलबासे लगायतले सहजीकरण गर्नुहुने जनाइएको छ ।