ताजा समाचार:
Search

बेनीमा पर्यटक सूचना केन्द्र’ स्थापनाको तयारी (भिडियो सहित)

विकल्प न्यूज/बेनी
बैशाख २६ गते । turist information center 0प्रशस्त पर्यटकीय संभावना रहेको म्याग्दीमा निजी क्षेत्रको अगुवाईमा पर्यटक सूचना केन्द्र स्थापना गर्ने तयारी गरिएको छ । बेनी नगरपालिका र पर्यटन बोर्डको सहकार्य मा म्याग्दी उद्योग बाणिज्य संघले बेनी नगरपालिका ८ वसपार्कमा सुविधा सम्पन्न पर्यटक सूचना केन्द्र स्थापना गर्न लागेको हो ।

म्याग्दी भ्रमण वर्षको अवसरमा बैशाख ३० गते संस्कृति,पर्यटन तथा नागरिक उड्डयान मन्त्री रबिन्द्र अधिकारीबाट सूचना केन्द्रको उद्घाटन गरिने कार्यक्रम रहेको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कर्मचार्यले जानकारी दिनुभयो ।

म्याग्दीको भ्रमणमा आउने पर्यटकको संख्याको अभिलेख राख्न र पर्यटकीय क्षेत्रको जानकारी गराउँने उद्देश्यले पर्यटक सूचना केन्द्रको स्थापना गर्न लागिएको अध्यक्ष कर्मचार्यले बताउनुभयो ।

तत्कालिन जिविस म्याग्दीले निर्माण गरेको भवनमा १५ लाख रुपियाँ खर्चेर निर्माण गर्न लागिएको केन्द्रमा पर्यटकका लागि चाहिने जानकारी, पर्यटकीय क्षेत्र र पर्यटकीय गन्तव्य, भौगोलिक अवस्था तथा सांस्कृति पहिचानका साथै पर्यटकीय क्षेत्र सँग सम्बन्धित सबै कुरा सूचना केन्द्रमा राखिने म्याग्दी उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । सूचना केन्द्रको व्यवस्थापनका लागि प्रवासमा रहेका म्याग्देलीहरुले आर्थिक सहयोग गरेको उहाँले बताउनुभयो ।

म्याग्दीमा पर्यटक सूचना केन्द्रको अभावले आएका पर्यटक उचित सूचना नपाउँदा प्रभावित हुँदै आएका थिए भने कति पर्यटकले म्याग्दीको भ्रमण गरे भन्ने एकिन तथ्याङक राख्न समेत समस्या थियो ।