पौलत्स्य माविमा अक्षयकोष स्थापनाका लागि अभियान सुरु

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १२ बैशाख ।
बेनी नगरपालिका ५ भिरमुनीमा रहेको पौलत्स्य माविमा विभिन्न अवसरमा हुने फजुल खर्च कटाएर अक्षयकोष स्थापना गर्ने अभियान सुरु भएको छ ।

पूर्व विद्यार्थीहरुले जन्मदिन, बिवाह लगायत अवसरमा हुने खर्च कटाएर विद्यायमा अक्षयकोष स्थापनाका लागि सहयोग गर्न थालेका हुन् । पौलत्स्य मावि अक्षयकोष स्थापनाका लागि पूर्व विद्यार्थीहरुलाई आफ्नो जन्मदिन अथवा अन्य कुनै अवसरमा सहयोगका लागि अपिल गरिएको शिक्षक देवीप्रसाद शर्माले जानकारी दिनुभयो ।

यसैक्रममा बेनपा ६ चुत्रेनी निवासी पूर्व विद्यार्थी भिमकुमारी बानियाँ (लक्ष्मी)ले बुधबार अक्षयकोषमा दश हजार ११२ रुपैयाँ सहयोग गर्नुभएको छ । विद्यालयका पूर्व विद्यार्थी, सेवा क्षेत्रका अभिभावक, स्थानीयबासी, शिक्षक लगायत सरोकारवालाहरुलाई विभिन्न उत्सवहरुमा हुने फजुल खर्च कटाएर अक्षयकोषमा सहयोग गर्न अपिल गरिएको शिक्षक शर्माले बताउनुभयो ।

शैक्षिक गुणस्तर सुधार र छात्रवृत्तीका लागि अक्षयकोष स्थापना गर्न सामाजिक सञ्चाल मार्फत अभियान सञ्चालन गरिएको विद्यालयले जनाएको छ । अक्षयकोष स्थापनाका लागि गोविन्द बानियाँको संयोजकत्वमा तदर्थ समिति समेत गठन भएको छ ।