सन्तोष गौतम/विकल्प न्यूज
रत्नेचौर ५ बैशख । बेनी नगरपालिका १ रत्नेचौरमा बुधबार प्रहरी बिटको भवन उद्घाटन गरिएको छ । साविकको रत्नेचौर गाविसको भवनलाई मर्मत गरेर प्रहरी बिटको कार्यालय स्थानान्तरण गरिएको हो ।
प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापाले प्रहरी बिटलाई चौकीमा स्तरोन्नती, दरबन्दि थपको लागि पहल गर्ने प्रतिवद्धता जनाउँदै शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई सघाउन स्थानीयबासीलाई आग्रह गर्नुभयो ।
प्रजिअ कृष्णप्रसाद अधिकारीले समाजको विकृति, बिसंगति, बेथिति र गैरकानुनी कामको खुलेर बिरोध गर्दै त्यस्ता गतिबिधि गर्नेलाई कानुनको कथघरामा उभ्याउन समुदायको सहयोग आवश्यक रहेको बताउनुभयो ।प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले शान्ति सुरक्षाका लागि स्थानीय तहबाट सहयोगको अपेक्षा व्यक्त गर्दै वडा कार्यालय र समुदायले पोष्टको भवन व्यवस्थापनका लागि गरेको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले छिमेकी बागलुङ जिल्लासंग जोडिएको रत्नेचौरमा ट्राफिक प्रहरी समेत खटाउन लागिएको बताउनुभयो । सो कार्यक्रममा प्रहरी पोष्टका ईञ्चार्ज हेमबहादुर बिसी लगायत प्रहरी कर्मचारीलाई नगद सहित पुरस्कृत गरिएको थियो ।वडा कार्यालयले खेलाडीहरुलाई सम्मान गरेको थियो । वडा अध्यक्ष टेकबहादुर रावलको अध्यक्षता, भानु मावीका प्रअ भरत खत्रीको सञ्चालन र वडा सचिव रमेश पौडेलको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माले समेत मन्तब्य व्यक्त गर्नुभएको थियो ।
वि.स २०७३ भदौमा स्थापना भएको प्रहरी बिट यसअघि आमा समूहको भवनबाट सञ्चालन हुदै आएको थियो । नगरपालिकाको एक लाख पचास हजार, ठुलो रानीबन सामुदायीक वन उपभोक्ता समूहको ४० हजार सहित स्थानीयबासी, संघ संस्था, सहकारी र व्यक्तिहरुको नगद तथा बस्तुगत सहयोगमा जिर्ण अवस्थामा रहेको भवनलाई मर्मत गरेर पोष्टको कार्यालय स्थान्तरण गरिएको हो ।