रहस्मय बन्दै दम्पती हत्या घटना ः दुईहप्तामा पनि पत्ता लागेन हत्यारा

विकल्प न्यूज/बेनी
बैशाख ४ गते ।

म्याग्दीको बेनी सँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका २ मल्लाज दहमा एक दम्पतीको हत्या भएको दुई हप्ता वितिसककेको छ । तर प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन् ।

गत चैत १९ गते सोमबार राती ६९ वर्षीय सूर्यबहादुर क्षेत्री र उहाँको ६७ वर्षीय श्रमती गमला क्षेत्रीको हत्या भएको अवस्थामा घरमै शव फेला परेको थियो । अहिले घटनाको बारेमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले अनुसन्धान गरिराखेको छ ।

जिल्ला प्रहरी कार्यालय पवर्तका प्रहरी प्रमुख डिएसपी खुमलाल भुसालले घटनाको बारेमा प्रहरीले गम्भिरतापूर्वक अनुसन्धान गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोली पनि अनुसन्धानमा जुटेको छ । जहाँ सम्म छिट्टै नै हत्यारा पत्ता लाग्छ ।’’ अनुसन्धानका लागि प्रदेश र जिल्लाबाट समेत टोली खटिएको डीएसपी भुसालले बताउनुभयो । घटनास्थल म्याग्दीको सदरमुकाम बेनी सँग नजिक भएकाले जिल्ला प्रहरी कार्यालय म्याग्दीले पनि अनुसन्धानमा सघाएको छ ।

ADV

भुसालका अनुसार प्रारम्भिक अनुसन्धान हेर्दा लुटपाटका लागि हत्या भएको हुनसक्ने देखिएको छ । ‘घटनाको प्रकृति हेर्दा लुटपाटका लागि हत्या भएको देखिन्छ । हत्यामा एकजनाभन्दा धेरै प्रयोग भएको पनि देखिन्छ । त्यसको अनुसन्धान गरिराखेका छौं’, डिएसपी भुसालले भन्नुभयो । अनुसन्धानका क्रममा अहिले सम्म करिब दुईसय जना भन्दा बढीसँग सोधपुछ गरिएको प्रहरीको भनाई छ ।

हत्या भएको दुईहप्ता हुँदा पनि हत्यारा पत्ता नलाग्नुले घटना थप रहस्यमय भएको जलजला गाउँपालिका २ का वडाध्यक्ष प्रकाश जिसीले बताउनुभयो ।  घरमा ती दम्पतीमात्रै बस्दै आएका थिए । २ छोरा वैदेशिक रोजगारीका लागि कोरिया र अर्का छोरा म्याग्दीको बेनीबजारमा बस्दै आउनुभएको थियो ।