मंगलाघाट बजार संरक्षण गर्न तटबन्ध

विकल्प न्यूज/बेनी
म्याग्दी,बैशाख १६ गते ।


म्याग्दी नदीको कटानबाट जोखिममा परेका सरकारी कार्यालय र बेनी नगरपालिका ७ को मंगलाघाट बजार संरक्षणका लागि पक्की तटबन्ध निर्माण गरिएको छ । गत वर्ष देखि थालिएको तटबन्ध निर्माण योजना काम अन्तिमचरणमा पुगेको छ । दुईवर्षको ठेक्का अवधि भएपनि तटबन्धको योजना दश महिना अगावै सम्पन्न हुन लागेको छ ।

जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गतको रुपताल संरक्षण एकीकृत विकास परियोजना पोखराले मंगलाघाटको वस्ती र जिल्लाका सरकारी कार्यालयहरुको संरक्षण गर्न करिब दश करोड रुपियाँ भन्दा बढीको लागतमा म्याग्दी नदी किनारमा कम्पोजिट पर्खाल बनाउने योजना थालेको थियो ।

म्याग्दी नदीको कटानबाट मंगलाघाट क्षेत्रमा रहेका अधिकांश सरकारी कार्यालय र निजी घरहरु जोखिममा परेका थिए । म्याग्दी नदी कटानको उच्च जोखिम रहेको क्षेत्र डिभिजन वन कार्यालय देखि माथि मंगलाघाट बजार सम्म दुईसय ६२ मिटर दूरीको कम्पोजिट पर्खाल निर्माण गर्न लागिएको हो ।

मंगलाघाट बजार क्षेत्रमा म्याग्दी नदीको किनारमा दुई वटा प्याकेज गरेर करिब दुई सय ६२ मिटर लम्बाइ भएको कम्पोजिट पर्खाल निर्माण गर्ने योजना अन्तिम चरणमा पुगेको रुपताल संरक्षण एकीकृत विकास परियोजना पोखराका इन्जिनियर नरजंग गुरुङले बताउनुभयो ।

पहिलो प्याकेजको एकसय २० मिटर लम्बाई भएको कम्पोजिट पर्खाल निर्माण गर्न पाँच करोड तीन लाख ८९ हजार रुपियाँमा रुपल सुप्रिम कन्ट्रक्सन सँग २०८१ चैत १० गते भित्र सम्पन्न गर्न २०७९ फागुन २९ गते ठेक्का सम्झौता भएको थियो ।
यसैगरी दोस्रो प्याकेजको एकसय ४२ मिटर कम्पोजिट पर्खाल निर्माण गर्न चार करोड ५८ लाख दशहजार रुपियाँमा पहिलो प्याकेजकै निर्माण कम्पनी सँग २०८१ फागुन १० गते भित्र सम्पन्न गर्ने गरी २०७९ फागुन २९ गते ठेक्का सम्झौता भएको परियोजना पोखराका इन्जिनियर गुरुङले जानकारी दिनुभयो ।

इन्जिनियर गुरुङले भन्नुभयो, ‘‘नदी कटनको उच्च जोखिम क्षेत्र भएकाले नयाँ प्रविधिको प्रयोग गरेर पर्खाल निर्माण गरेका छौं । दुइवटै प्याकेजमा नदी किनारमा बगिरहेको पानीदेखि साढे दुईमिटरको गइराईमा जग खनेर कटअफ पर्खाल निर्माण गरिएको छ । उक्त कंक्रिट पर्खाल तीनमिटर उचाई र चारमिटरको चौढाइमा हुन्छ । पर्खाल माथि चार मिटर उचाई सम्म ग्यावियन झाली लगाइन्छ । ग्यावियन झालीलाई खिया नलागोस् भनेर बाहिरबाट पातलो कंक्रिटले छोप्ने काम हुन्छ ।’’ कटानको उच्च जोखिम क्षेत्रमा यो प्रविधिको पर्खाल उपयोगी हुने उहाँले बताउनुभयो ।

ठेक्का सम्झौता लगत्तै मजदुर र उपकरण सहित कार्यस्थलमा परिचाल भएको निर्माण व्यसायीले पर्खाल निर्माणलाई तिव्रता दिएको उहाँले बताउनुभयो । उहाँका अनुसार पहिलो प्याकेजको ८५ प्रतिशत र दोस्रो प्याकेजको ७५ प्रतिशत भौतिक प्रगती हासिल भएको छ ।

जोखिम क्षेत्र भएकाले असारभित्रै योजनाको मुख्य काम सम्पन्न गर्ने तयारी गरिएको छ । योजनालाई छिटो, छरितो र गुणस्तरीय बनाउन परियोजनाका तर्फबाट अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाइएको उहाँको भनाइ छ ।

चालु आर्थिक वर्षमा म्याग्दी खण्डको तटबन्ध निर्माणका लागि विनियोजन भएको पाँच करोड रुपियाँ परियोजनाले निर्माण व्यवसायीलाई भुक्तानी गरिसकेको र बाँकी रकम भुक्तानीका लागि यो आर्थिक वर्षमा रकम अभाव भएकाले योजनाको सम्पूर्ण काम सम्पन्न गर्न कठिनाई भएको परियोजनाका इन्जिनियर गुरुङले बताउनुभयो ।

भुक्तानीका लागि बजेट नभएपनि सानोतिनो काम बाँकी राखेर मुख्य काम असार भित्रै सम्पन्न गर्न कार्यालयका तर्फबाट निर्माण व्यवसायीलाई अनुरोध गरिएको उहाँको भनाई छ ।