ताजा समाचार:
Search

मराङमा वडा कार्यालय भवन उद्घाटन्

मराङ, १४ वैशाख ।

म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको वडा कार्यालय भवन शुक्रबार उद्घाटन गरिएको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सोमबार भवनको एक समारोहका बिच उद्घाटन गर्नुभएको हो ।

४ कोठे १ तले भवनमा शुक्रबारदेखिनै सेवा प्रवाह शुरु गरेको वडा अध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । भवनमा वडा अध्यक्ष, सचिव, सभाहल र भण्डारण कक्ष रहेको छ । रु. एक करोड लागत अनुमान गरिएको भवन निर्माणका लागि बि एण्ड बि कन्ट्रक्सनले गत वर्ष रु. ८५ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

गत असारमा निर्माण सकिनुपर्ने भवन मराङ जोड्ने सडक स्तरोन्नतिका क्रममा अवरुद्ध बनेपछि निर्माण सामग्री ढुवानी गर्न समस्या हुँदा पछि ढकेलिएको निर्माण कम्पनीका प्रतिनिधि शिव बानियाले बताउनुभयो ।

भवन निर्माण सकिएपनि अन्तिम भुक्तानी पाउन बाँकी रहेको उहाँले गुनासो गर्नुभयो ।  वि.स. २०७७ असार अन्तिम साताको पहिरोले आमा समूह भवनमा सञ्चालित वडा कार्यालयको सम्पूर्ण सामग्री बगाएको थियो । पहिरोले बगाएपछि मराङ स्वास्थ्य चौकीको भवनबाट वडा कार्यालयको सेवा सञ्चालन गरिएको थियो । आफ्नै भवन भएपछि सेवा प्रवाह सहज हुने गाउँपालिकाका अध्यक्ष पुनले बताउनुभयो ।

धवलागिरी गाउँपालिकाको वडा नम्बर २ र ७ को भवन निर्माण कार्य सकिएर प्रयोगमा आइसकेका छन् । वडा नम्बर ५ मल्कवाङमा पनि यसअघिनै सामुदायिक भवन बनाएर वडा कार्यालय सञ्चालन गरिएको छ । घट्टखोलामा गाउँपालिकाको सुविधासम्पन्न भवन निर्माणाधिन रहेको छ । यसैगरी वडा नम्बर १ गुर्जा र ३ मुनामा स्वास्थ्य चौकीको भवन निर्माण सकिएको, मुदीमा स्वास्थ्य चौकी र ताकममा ५ शैया क्षमताको अस्पताल भवन निर्माणाधिन रहेको छ ।

वडा कार्यालय भवन उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत मोतिराम अर्याल, वडा अध्यक्षहरु देबेन्द्र रोका, याम घर्तिमगर, अमर छन्त्याल, अशोक खत्री, जिसस सदस्य श्रीप्रसाद गर्बुजा लगायतको उपस्थिति रहेको थियो । स्थानीयबासीहरुले भवन निर्माण भएको खुसीयालीमा नाचगान गरेका थिए ।