म्याग्दीका लेकाली क्षेत्रमा ‘ढकायो’ टिप्ने चटारो

वैशाख १७ गते । 

 म्याग्दीका लेकाली क्षेत्रका वनजङ्गलमा ढकायो टिप्न थालिएको छ । तरकारीको रुपमा प्रयोग गरिने ढकायो टिप्न यतिबेला जिल्लाका उच्च पहाडी क्षेत्रमा बस्ने स्थानीयलाई चटोरो छ ।

जिल्लाको कुइनेमङ्गले, कुइनेखानी, चौरखानी, ढाँड, दुवाडी, घ्यासीखर्क, पात्लेखर्क, चिमखोला, मल्कबाङ, मलम्पार, मुदी, खिबाङ, बगर, लुलाङ, गुर्जालगायत गाउँबस्तीका स्थानीयले ढकायो टिप्ने गरेका छन् । रघुगङ्गा गाउँपालिका-८ कुइनेमङ्गलेका जीवन छन्त्यालले अहिले लेकाली क्षेत्रका जङ्गलहरुमा ढकायो टिप्ने चटारो बढेको बताउनुभयो । एक प्रकारको जङ्गली साग ढकायोका पात र डाँठलाई तरकारीको रुपमा प्रयोग गर्ने गरिएकाे उहाँले बताउनुभयो ।

त्यसलाई गुन्द्रक बनाएर बेमौसममा समेत उपभोग गर्ने गरिन्छ । सो गुन्द्रक उपहारका रुपमा देशका विभिन्न भूभाग र विदेशमा समेत लैजाने चलन रहेको कुइनेमङ्गलेका नरे छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाखदेखि असारको पहिलो हप्तासम्म ढकायोसँगै निगुरो, वनलसुन, वनधनियाँ, टुसा, च्याउसमेत सङ्कलन गर्ने गरिएको उहाँले बताउनुभयो । रासस