ताजा समाचार:
Search

अन्नपूर्णमा पुख्र्यौली नाचको उत्सव (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य
म्याग्दी,बैशाख १५ गते ।

मगर समुदायको मौलिक कला संस्कृतिका रुपमा रहेको पुख्र्यौली नाचको संरक्षण,पुस्तान्तरण र प्रचारप्रसार गर्न अन्नपूर्णमा पुख्र्यौली नाचको प्रतियोगिता गरिएको छ । प्रतियोगिता तिनदिन सम्म संचालन हुनेछ । गाउँपालिकाको वडा नम्बर २ भुरुङ तातोपानीमा आयोजना गरिएको प्रतियोगितामा मगर समुदायका अगुवा देखि बालबालिकाहरुको उत्साहजनक सहभागिता रहेको छ ।
मगर समुदायको मौलिक कला र संस्कृतिको प्रचारप्रसार र युवा पुस्तामा संस्कृति हस्तान्तरण गर्न पुख्र्यौली नाच प्रतियोगिता आयोजना गरिएको वडा नम्बर २ का वडाध्यक्ष ओमप्रसाद फगामीले बताउनुभयो ।

विहिबार देखि सुरु भएको प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न वडाहरुबाट १२ समुहले भाग लिएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, दोस्रो हुनेलाई ७५ हजार र तृतीय हुनेलाई ६० हजार रुपियाँ सहित प्रमाणपत्रद्धारा पुरस्कृत गरिने वडाध्यक्ष फगामीले बताउनुभयो ।

प्रतियोगितामा उत्कृष्ट मादले नाच, मारुनी नाच, हाइमार्ने समूह, भाका तथा शब्द छनौट, पोशाक, अनुशासनको विद्यामा समेत नगद सहित प्रमाणपत्रद्धारा पुरस्कृत गरिने छ । प्रतियोगितामा वडा नम्बर ४ नारच्याङका पूर्व वडाध्यक्ष चन्द्रप्रसाद फगामीले पनि भाग लिनुभएको छ ।
मगर समुदयामा परम्परागत रुपमा चलिआएको पुख्र्यौली नाच युवा पुस्तामा हस्तान्तरण नहुँदा लोपभएर जाने देखिएकाले नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने माध्ययमका रुपमा पुख्र्यौली नाचको प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष फगामीले बताउनुभयो । प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडाका जनप्रतिनिधि, आमा समूह, युवायुवती, बालबालिका र बृद्धबृद्धा समेतको उत्साहजनक सहभागिता रहेको उहाँले बताउनुभयो ।

पुख्र्यौली नृत्य मगर समुदायको पहिचान झल्किने मौलिक संस्कृति भएकाले यसको संरक्षण र पुस्तान्तरणका लागि प्रतियोगितामा भाग लिन आएको वडा नम्बर ४ नारच्याङका पूर्व वडाध्यक्ष फगामीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मगर समुदायको पहिचानका रुपमा रहेको पुख्र्यौलीलाई संरक्षण गर्न र यसको महत्वलाई जोगाउन म आफै पनि पुख्र्यौली नाच्ने गरेको छु । युवा पुस्तामा संस्कृति हस्तान्तरण गर्न पाका पुस्ताहरु सक्रिय भएका छौं ।’’

अन्नपूर्ण गाउँपालिका भित्रका बृद्धबृद्धा,बालबालिका देखि युवा पुस्ताको उत्साहजनक सहभागिताले प्रतियोगिता पुख्र्यौली नाचको उत्सवका रुपमा परिणत भएको गाउँपालिकाका अध्यक्ष भारत कुमार पुनले बताउनुभयो । गाउँपालिकाले संस्कृतिको संरक्षण र प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने नीति लिएको उहाँले बताउनुभयो ।

तीनदिनसम्म सञ्चालन हुने प्रतियोगितालाई सफल बनाउन अन्नपूर्ण गाउँपालिकाले ३ लाख सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । प्रतियोगितालाई स्वदेश तथा विदेशमा रहेका भुरुङ तातोपानीबासीको नेतृत्वमा १९ लाख रुपियाँ भन्दा बढी सहयोग जुटेको आयोजकले जनाएका छन् ।