ताजा समाचार:
Search

बेनीका पशुपालक किसानलाई उत्पादनमा आधारित अनुदान

विकल्प न्यूज/बेनी
बैशाख १६ गते ।

 


म्याग्दीको बेनी नगरपालिकाले पशुपालक किसानहरुलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान वितरण थालेको छ । अनुदान रकमलाई दुरुपयोग हुनबाट रोक्न र पशुपालक किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम अघि सारेको हो ।

१० भन्दा बढी माउ बाख्रा र ३ वटा भन्दा बढी गाई,भैंसी पालेका पशुपालक किसानहरुलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान दिन थालेको नगर प्रमुख सुरत केसीले बताउनुभयो । उत्पादनमा आधारित अनुदान कार्यक्रमले किसानहरुलाई राहत मिल्नु उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उत्पादनमा आधारित अनुदान लिन कम्तिमा १० वटा बाख्रा पालेका किसानलाई प्रतिगोटा तीन हजार रुपियाँ र तीन वटा भन्दा बढी गाई भैंसी पाल्नेलाई प्रतिगोटा ५ हजार रुपियाँका दरले अनुदान वितरण थालिएको नगर प्रमुख केसीले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा अनुदान वितरणका लागि १२ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

कृषि प्राविधिकहरु किसानको गोठमै पुगेर अनुदान रकम वितरण गर्न थालेको उहाँले जानकारी दिनुभयो । किसानलाई सुरुमै अनुदान रकम वितरण गर्दा दुरुपयोग भएको गुनासो आएपछि उत्पादनमा आधारित अनुदान नीति लिएको नगरपालिकाले जनाएको छ । उत्पादनमा आधारित अनुदान वितरण नीतिले अनुदान रकमको सदुपयोग हुनुका साथै किसानलाई व्यवसायिक बनाउन प्रोत्साहन मिलेको नगर प्रमुख केसीको भनाई छ ।

#Adv

नगरपालिकाले उत्पादनमा आधारित अनुदान वितरण थालेपछि पशुपालक किसानहरु उत्साहित भएका छन् । उत्पादनमा आधारित अनुदान कार्यक्रमले किसानलाई राहत मिल्ने बेनी नगरपालिका ६ का पशुपालक किसान सुरेश ढुङ्गानाले बताउनुभयो ।